नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन ।
उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्ने धारणा राखिन ।
सीमाङ्कनको विषयमा आयोगमार्फत काम गराउनुपर्नेमा जोड दिदै उनले संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनेतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरिन ।
उपाध्यक्ष शाक्यले नेकपा (एमालले)ले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुन लागेको जानकारी दिइन ।
चितवनमा आइतबार एमाले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उनले बताइन ।
सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गरे ।
परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएकोे पनि उनले जानकारी गराए । लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ ।