☰ open Loading... 19 April 2024|  

सशस्त्र सङ्घर्षका घाइतेसँग मनाए प्रधानमन्त्री प्रचण्डले ६३ औँ जन्मदिन
  | २६ मंसिर २०७३, आईतवार १३:२३

“तपाईंँलाई जन्मदिनको शुभकामना छ प्रधानमन्त्रीज्यू, संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनुहोस्, तपाईंको साथमा हामी छौँ”, प्रधानमन्त्री निवास बालुवाटारमा एकाबिहानै कालीकोटका सर्जन विकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिए ।

फायल तस्वीर ।
फायल तस्वीर ।

घाइते शरीर घिसार्दै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका विकलाई देख्नेबित्तिकै प्रधानमन्त्रीले सोधे, “सर्जन कमरेड कस्तो छ अवस्था ?” प्रधानमन्त्रीको प्रश्नलगत्तै कम्मरमुनिको भाग नचल्ने विकले भने, ‘‘जनयुद्धका घाइतेले हालसम्म राहत पाएका छैनन् । त्यसमा पहल गरिदिनुप¥यो । मुख्य विषय मुलुकलाई निकास दिने भएकाले त्यसमा लाग्नुहुन मेरो विशेष अनुरोध छ ।”

प्रधानमन्त्री दाहालको जन्म २०११ साल मङ्सिर २६ कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । उनी मुक्तिराम र आमा भवानी दाहालका जेठा छोरा हुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल व्यवस्थापिका–संसद्बाट गत साउन १९ गते तीन सय ६३ सदस्यको बहुमतप्राप्त गरी नेपालको ३९ औँ प्रधानमन्त्री भए । यो उनको दोस्रो कार्यकाल हो

विक २०६२ साल फाुगुनमा बुटवलमा भएको भिडन्तमा परेर घाइते भएका थिए । उनको शरीरको आधाभन्दा बढी भाग चल्दैन । घाइते योद्धालाई भेटेर प्रधानमन्त्री एक छिन भावुक भए र जन्मदिनको शुभकामना दिएकामा बधाई ज्ञापन गर्दै घाइते, बेपत्ता योद्धा र सहिद नै आफ्नो प्रेरणाको स्रोत भएको बताए । “प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन बालुवाटार गएका थियौँ, उहाँ मुलुकको समस्या समाधान गर्न चिन्तित रहेको पायौँ”, घाइते विकले भने, “त्यसका अलावा आफ्ना मागका बारेमा समेत जानकारी गरायौँ ।”

विकको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसमध्ये अधिकांश ‘जनयुद्ध’का घाइतेहरू थिए । ‘‘प्रधानमन्त्रीले आजको दैनिकी जनयुद्धका घाइतेलाई भेटेर सुरु गर्नुभयो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

“पार्टीको सम्पत्ति भनेकै घाइते, बेपत्ता र सहिद परिवार नै हुन्, पार्टीलाई सुखदुःखमा साथ दिने योद्धा पनि तपाईं नै हो भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । जन्मदिनको शुभकामना दिएकामा विक लगायत नेता तथा कार्यकर्तालाई बधाई पनि दिनुभयो”, प्रेस सल्लाहकार आचार्यले भने ।

जन्मदिनको शुभकामना दिने अधिकांश कार्यकर्ताले संविधानको सफल कार्यान्वयन गर्न, मुलुकलाई समाधान दिन र स्थानीय निकायको निर्वाचनमा ध्यान दिन आग्रह गरेका थिए । त्यसका अलावा ‘जनयुद्ध’का घाइते, बेपत्ता र सहिद परिवारलाई उचित राहत दिनसमेत कार्यकर्ताले आग्रह गरेका थिए ।

सरकारले सशस्त्र सङ्घर्षका क्रममा ज्यान गुमाएका सहिद र बेपत्ता परिवारलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने प्रक्रिया सुरु गरेको छ । प्रधानमन्त्रीले माथिल्लो तामाकोसी आयोजनाको स्थलगत निरीक्षणका क्रममा समेत सो धारणा सार्वजनिक गरेका थिए ।

यस्तै प्रधानमन्त्री दाहालका ‘राजनीतिक गुरु’ मोहन वैद्यले पनि प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिए । प्रधानमन्त्री दाहाललाई भेटन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष वैद्यले मुलुकलाई समाधान दिनसमेत आग्रह गरेका थिए ।