☰ open Loading... 24 October 2024|  

संविधान बचाउन तीन दल मिल्नु पर्छ : काँग्रेस नेता खड्का
  | २८ मंसिर २०७३, मंगलवार १९:५३

सुर्खेत । कांग्रेस नेता पूर्णबहादुर खड्काले संविधान बचाउन प्रमुख तीन दलबीचको एकतामा जोड दिएका छन् । कांग्रेस, एमाले र माओवादीको एकताले संविधान घोषणा भएको भन्दै उनले संविधान कार्यान्वयनका लागि तीनै दल मिल्नुको विकल्प नभएको बताए ।

‘तीन दल नमिले संविधान दुर्घटनामा पर्ने निश्चित छ’ पूर्वी सुर्खेतमा लाग्ने ऐतिहासिक सुभाघाट मेलाको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘व्यक्तिगत–पार्टीगत स्वार्थलाई त्यागेर पुनस् एकपटक शीर्ष नेताहरु संविधान कार्यान्वयनको बाटोमा केन्द्रित हुन जरुरी छ ।’

purna-bdr-khadka

संविधानसभाबाट संविधान बनाउने ७० वर्षदेखिको सपना पूरा भएकाले अब प्राप्त उपलब्धि गुम्न नदिन संविधानको सुरक्षा आवश्यक रहेको उनको भनाइ थियो । ‘अहिले संविधान कार्यान्वयनका सन्दर्भमा प्रमुख दलहरुबीच वार्ता चलिरहेको छ ।

स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गरेर संविधान सफल बनाउनु’ उनले भने, ‘यसका लागि अन्य दललाई समेत साथमा लिएर तीन दल मिल्नुको विकल्प छैन ।’

पूर्वगृहमन्त्रीसमेत रहेका सुर्खेत–१ का सांसद खड्काले संविधान जारी गर्दा एकजुट भएका दलहरु पुनस् विभाजित हुुनु दुर्भाग्य भएको बताए ।