☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

खलो उठाएर परिवार पाल्ने जनेले छोरोका उपचार गराउन सकेन

  |

ढिमे घरङ्गाका अमरबहादुर आग्री अहिले ओछ्यानमा थला पर्नुभएको छ । बोल्न, सुन्न र हिँड्डुल गर्न नसक्ने आग्री अहिले १७ वर्षको भए । गरिब परिवारका उहाँ अरूको सहारामा बाँचि रहेका छन् ।

हात, खुट्टा नचल्ने, कान नसुन्ने र बोल्न पनि नसक्ने अमरको स्याहारका लागि एकजना दैनिक हेराला बस्नुपर्ने बाध्यता रहेको छ उनको परिवारलाई । घरको कुनै पनि परिवारका सदस्यले अमरले खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ्नै ओछ्यानमा आफ्नै दिसा र पिसाबसँगै पल्टिरहेका छन् । उनको यो अवस्थाको हेरचाह बाबुआमाले गर्दथे ।

आमाको मृत्यु भएपछि झनै समस्या परेको अमर कसैले इसारा गरेर बोलेपछि बुझेजस्तो गरी चल्न र पल्टिन खोज्नुहुन्छ, तर उनको शारीरिक अवस्थाले त्यो चाहना कहिल्यै पूरा हुन दिँदैन । उनलाई दैनिक खुवाउने खाना पनि झिङ्गाले फोहरै फोहर बनाएको हुन्छ । अरूको सहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्दैनन् ।

जन्मजातदेखि कै अमरको यो समस्यालाई आमाबुबाले उपचारको साटो उल्टै गाउँमै धामीझाँक्रीको मात्रै लगे । अरु उपचार गराउन सकेनन् । गाउँमा एक सिन्को पनि सम्पत्ति नभएका अमरका बाबु जने आग्रीले अर्थाभावमा अमरलाई धामीझाँक्रीबाहेक अन्यत्र कतै उपचारका लागि लान सकेन । धामीझाँक्रीका कारण अमरले कुनै उपचार पाउन सकेनन् । आमाले अमरको हेरचाह गर्दा बाबुले कमाउने र परिवार पाल्ने बाबुले हेरचाह गर्दा आमाले परिवार पाल्ने काम गर्ने गरेका थिए ।

अमरकी आमाको मृत्यु भएपछि बाबु जनेलाई परिवार पाल्न झनै समस्या भयो । अमरलाई हेरचाह गर्ने श्रीमती हुँदा गाउँको स्थानीय सामुदायिक वनको हेरालुको काम गरेर दिएको अन्नबाट दैनिक परिवार पालिरहेको थिए । श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकाले नियमित रुपमा काम गर्न नसकेको जनेले बताए । आफूसँग पैसा नभएकाले सुविधासम्पन्न ठाउँमा लगेर छोराको उपचार गराउन नसकेको जने स्वीकार गर्छन ।

जनेको नाममा गाउँमा कुनै पनि सम्पत्ति छैन । सम्पत्ति नभएर सुकुम्वासी भएका जनेलाई अहिलेसम्म कुनै सरकारी, गैरसरकारी निकायले सहयोग गरेको छैन । जन्मजातदेखि नै हातखुट्टा नचल्ने तथा बोल्नसमेत नसक्ने अमरलाई अहिलेसम्म पनि कुनै सुविधा कतैबाट प्रदान गरिएको छैन ।

यस्तो अवस्थाको छोरालाई कतैबाट सहयोग हुन्छ कि भनेर गाविस हुँदै छोरोलाई सदरमुकाममा लिएर गएको तर आफ्ना कुरा कसैले नसुन्दा पुनः घरमै लिएर आएको जनेले दुखेसो सुनाए । घरमा जनेका चार छोरा र पाँच छोरी रहेका छन् । जेठी छोरीको विवाह भएको र जेठो छोरा भारत गएर घर नआएकाले जनेलाई परिवार पाल्न समस्या छ ।

कुनै पनि सम्पत्ति नभएकाले जनेको परिवारको बसोबासका लागि गाउँका सबै मिलेर सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरो बनाइदिएको छ । परिवार ठूलो भएको र काम गरिखाने अवस्थाका कोही नहुँदा गाउँको सामुदायिक वनको हेरालु बनाई गाउँभरिबाट एक सय ३८ घरधुरीले धान, मकै, गहुँ, जौ उठाएर दिने गरेको राम सिंहले बताए ।

जनेलाई गाउँले त्यतिकै दिन असहज मान्ने गरेकाले वन हेरालु बनाई त्यसबापत अन्न दिने गरेका छन् । ढिमे–४ घरङ्गामा रहेको सामुदायिक वनबाट जनेको परिवारलाई पालिएको छ ।

जनेले सरकारले वितरण गरेको हलिया परिचयपत्र पाएका छन । सरकारले प्रमाणित गरेको हलियाको विवरणमा जनेको नाम छ तर कुनै सुविधा भने लिन पाएका छैनन् ।

स्राेत ः weeklynepal : RSS

प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     3:57:46 PM
error: Content is protected !!