स्वास्थ मन्त्री गगन थापाका सहयोगी डा. रामेश कोइरालाले जाजारकोट अस्पताल १५ शैय्याको भनेपनि एक बर्षअघि ५० शैय्यामा स्तरोन्नती गरिएको थियो । तर, ५० को त के १५ शैय्या अनुरुपकोसमेत सेवा र सुविधा उपलब्ध छैन । ५० शैय्याको अस्पताल कागजमै मात्र सिमित छैन, जिल्लाका विरामीले कहिल्यै विशेषज्ञ सेवा पाएका छैनन् । विशेषज्ञ सेवाका लागि महङ्गो खर्चमा अन्यत्रै जानु पर्ने बाध्यता ज्यूँकात्यूँ छन् ।
पन्ध्र शैय्याको अस्पताल स्थापना भएको ४० वर्षमा कहिल्यै मेडिकल सुपरिटेन्डेन्टले पाइला टेकेनन् । जिल्लाको स्वास्थ्यस्थिति बारेमा मंगलबार कान्तिपुरमा समाचार प्रकाशित भएपछि डा. चाँदनी जैसवाललाई निमित्त सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको पत्र आइपुगेको छ ।
मन्त्री थापाका सहयोगी कोइरालाले मंगलबारको समाचारको प्रतिक्रियामा बिहीबार ट्वीट गरेका छन्, ‘५० भनेपनि १५ बेडको जाजरकोट अस्पतालमा ६ जना डाक्टर रहेको र औषधीको अभाव जिल्लाभर नभएको बुझियो । अस्पष्ट खबर र संपादकीयबारे कान्तिपुरले के भन्ला ?’ उनले गरेको अर्को ट्वीटमा भने ‘एकबर्षअघि स्तरोन्नती गरिएको भए पनि भवनको अभावमा १५ शैया संचालन भएको अस्पतालका लागि ६ डाक्टर पर्याप्त हुन् ।’
सरकारले अस्पतालको स्तर बृद्धी घोषणा गरेपछि त्यस अनुसारको विशेषज्ञ चिकित्सक, उपकरण र प्रर्याप्त औषधी पठाएको छैन । विगत बर्षहरुमा बढीमा दुई मेडिकल अधिकृतले सेवा दिने गरेको यो अस्पतालमा यो बर्ष ५ मेडिकल अधिकृत र १ डेण्टल सर्जनले सेवा दिइरहेका छन् ।
अस्पतालमा ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जनरलिष्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिष्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसिया समेत ९ विशेषज्ञ चिकित्सक दरबन्दी रहेको छ । यि दरवन्दीका बिशेषज्ञ चिकित्सकहरुको अनुहार अझै देख्न पाइएको छैन । त्यस्तै अस्पतालमा वरिष्ठ फिजियोथेरापिष्ट, नर्सिङ्ग अधिकृत, ल्याव टेक्नोलोजिष्ट, मेडिकल रेकर्डर, स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसिष्ट लगाएत ३७ स्वास्थ्यकर्मीको अझै अभाव छ ।
स्वास्थ्यकर्मी अभावमा अस्पतालको ओपिडी ड्रेसिङ्ग कक्षमा एक विरामीको घाउ सफा गर्दै प्रशिक्षार्थी । तस्विर: भीमबहादुर सिंह/कान्तिपुर ।
विशेषज्ञ चिकित्सक, भौतिक पुर्वाधार, औषधी, उपकरण लगायतको उचित ब्यवस्था नहुँदा जिल्लामै विशेषज्ञ सेवा पाउने जाजरकोटबासीको चाहना सपनामै सिमित भएको स्थानीय तीर्थबहादुर रोकायले बताए । “स्तरबृद्धिको निर्णय मात्र गरेर के गर्ने ? कार्यान्वयन हुन सकेन । सामान्य रोगको उपचार, सामान्य शल्यक्रिया गर्न, सुत्केरी गराउन र रगतका लागि जिल्ला बाहिर नगई सुख छैन,” उनी भन्छन् ।
“न अस्पतालमा विशेषज्ञ डाक्टर छन्, नत भौतिक पुर्वाधार, उपकरण र औषधीको उपलब्धता छ,” उनले भने । हात खुट्टा भाँचिएको दुखाई तथा सुत्केरी ब्यथाले छट्पटाई रहेका र रगत अभावमा जीवनमरनको दोसाँधमा रहेका विरामीलाई महङ्गो खर्च ब्यहोरेर नेपालगञ्ज लैजानु पर्ने वाध्यता नटरेको उनले बताए ।
बिशेष सेवाको अभावमा अस्पताल रिफरल अस्पताल जस्तो मात्र भइरहेको छ । सुत्केरी ब्यथाले च्यापेपछि छट्पटिदैं जाजरकोट अस्पतालमा पुगेकी भेरीमालिका नगरपालिका २ की मनिसा वली र सविता विकलाई स्वास्थ्यकर्मीले दुई दिनसम्म त्यही अस्पतालमा राखेर उपचार संम्भव छैन भन्दै चौरजहारी अस्पतालमा रिफर गरियो । भेरीमालिका नगरपालिका १३ की कमला कामीलाई पनि सुत्केरी पछिको रक्तस्राव रोक्न नसकेपछि चौरजहारी अस्पताल पठाइयो ।
भेरीमालिका नगरपालिकाकै ३ की सुशीला वलीको सुत्केरी पछिको संक्रमण, २ का रिजन कार्कीको निमोनिया र यशोदा रसाइलीको रक्तचाप बृद्धीको समेत उपचार हुन नसकी जिल्ला बाहिर रिफर गरीयो ।
‘यि त प्रतिनिधि उदाहरण मात्र हुन् । जाजरकोट अस्पतालमा उनीहरु जस्तै दैनिक सामान्य रोगको विरामीसमेत रिफर गर्ने काम मात्र हुने गरेको छ,’ रोकायले थप्छन् । जाजरकोट अस्पतालमा प्राथमिक उपचार बाहेकका समस्या समाधान हुनसकेको छैन ।
जिल्ला अस्पतालको स्तर बृद्धिसँगै स्वास्थ्य सेवा विभागले ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायक स्तरका सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दि सृजना गरेपनि विशेषज्ञ चिकित्सक तथा केहि स्वास्थ्यकर्मी भने अहिलेसम्म नआएको अस्पतालकी प्रमुख डा. चाँदनी जैसवालले वताइएन् ।
“अस्पतालमा सामान्य उपचार गर्न पनि कठिन छ,” डा. जैसवाल भन्छिन्, “आइपिडि, ओपिडि, ब्लड बैंक र सुत्केरी सेवा जस्ता अति आवश्यक उपचारका लागि समेत भवन तथा कोठा छैनन् । अस्पतालमा उपकरण तथा औजार र भौतिक संरचना विना विशेषज्ञ डाक्टरले सेवा प्रवाह गर्न सक्दैनन् ।”
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधी अभाव उस्तै
जाजरकोटका स्वास्थ्य संस्थामा औषधी अभाव कायमै छ । जिल्ला अस्पताल र ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा औषधी अभाव नटरेपछि जिल्लाको स्वास्थ्य सेवा प्रभावित बनेको छ । विरामी निजी मेडिकलको औषधी किन्न वाध्य छन् । त्यस्तै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पनि अभाव नै छ । दर्जन बढी स्वास्थ्य सस्ंथामा करार नियुक्तिका अनमी तथा कार्यालय सहयोगीका भरमा संचालन भएका छन् । जिल्लाका ३ दर्जन स्वास्थ्य संस्थामा औषधी अभाव भएको हो । घरंगा, रग्दा, साल्मा, थालरैकर, झाप्रा, डाडागाउ, पजारु, दह, भगवती लगायत संस्था स्वास्थ्यकर्मी विहीन छन् । जिल्ला भर १ सय ३६ स्वास्थ्यकर्मीको पद पुर्ति हुन नसकेको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले बताए ।
औषधी अभाव भएपछि स्वास्थ्यकर्मीले जुनकुनै औषधी पनि मेडिकलमा किन्नु भन्ने गरेका छन् । अस्पताल लगायत स्वास्थ्य संस्थामा पारासिटामोल, सिरिन्ज, एभील, स्प्राईट, म्याग्नेसियम, मेट्रो, कोर्टीन, एमोक्सीलीन, आई ड्रप, एण्टासिट, ऱ्यानीटीडीन, भिटामीन बी कम्प्लेक्स, फेनारामाइन, म्याग्लेट, जीन्क ट्याब्लेट, डाइजीन, विभिन्न सलायन, सिप्रोलगायत ६० प्ररकारका औषधीको अभाव भएको छ ।
जिल्ला अस्पतालको स्टोर पनि खाली छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधी लिन आएका स्वास्थ्यकर्मी खाली हात फर्कने गरेका छन् । चार दिन अघि पारासिटामोलम समेत नभएको अस्पतालले बताएको थियो ।
हाल आफ्नो स्टोरमा ३ हजार मात्र ट्याब्लेट पारासिटामोल स्टक देखाईको छ । स्टोरमा ८ हजार ट्याब्लेट भन्दा स्टक नघट्नु पर्ने हुन्छ । सिटामोल अभाव भएपछि एल्वी सप्लायर्स मेडिसियन प्युठानबाट ५० हजार ट्याब्लेट ल्याएर वितरण गरिएको अस्पतालका कम्प्युटर अप्रेटर सुनिल शाहले बताए ।
एउटा स्वास्थ्य संस्थामा २ सय ट्याब्लेट सिटामोल मात्र उपलब्ध गराउने गरेको उनले बताए । १० हजार ट्याब्लेट सिटामोलको माग गर्ने दल्ली प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ सय ट्याब्लेट मात्र उपलब्ध गराइएको उनले बताए । अहिले सबै औषधीको स्टक न्युन रहेको उनले बताए । ६ महिना यता औषधी आपुर्ती हुन नसक्दा समस्या भएको उनले बताए ।
सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकार भन्दा बढी औषधी उपलब्ध हुन नसकेको स्टोरकीपर लमबहादुर खड्काले बताए ।
चालु आर्थिक बर्षका लागि ३५ लाखको औषधी खरीदका लागि ब्यवसायसँग सम्झौता भैसकेको उनले बताए । स्मार्ट मेडिसर्ज नेपालगंजलाई अबको २/३ दिनमा उक्त औषधी जाजरकोट पुरयाउन ताकेता गरेको उनले बताए । यतिबेला क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जमा समेत औषधी अभाव रहेको सम्बन्धित स्वास्थ्यकर्मीले बताएका छन् ।
Scoure ekantipur