बर्दिया । ‘माघ लहाईली सुरीक सिकार खैलि रे हाँ, सखिय हो माघक पिली गुरी गुरी जाँड’ अर्थात माघमा नुहाउने संगुरको मासुका परिकार खाने, साथी हो, माघमा पिउँला मिठो मिठो जाँड । यस्तै मघौटा, हुरदंगवा, सखिया गीतमा नाचगान गर्ने, माघे संक्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिका खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्व सुरु भइसकेको छ । यो पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत लिने गर्दछन् । तर पछिल्लो समय माघे संक्रान्तिमा नाचगान गर्ने परम्परा हराउँदै गएको छ ।
थारु समुदायमा मनाईने माघी पर्वमा खोला र नदीमा माछा मार्ने, जिता मार्ने (सुँगुर बंगुर मार्ने), नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाईने ढिक्री लगायतका परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ । माघे संक्रान्तिका दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन छ ।
थारु जातिको बाहुल्यता रहेको पश्चिम तराईका दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत भेगमा माघे संक्रान्तिका दिनलाई थारु समुदायहरुले ठूलो चाडका रुपमा मनाउने गर्दछन् । उनीहरुले माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन ।
माघी पर्वसँगै खेतबारी अधिया बटैँया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि अझै कायमै छ । माघे संक्रान्तिसँगै अर्काको घरमा कमलर, कमलरी, कमैया राख्ने परम्परा भने हटिसकेको छ ।
दैलेख, कालिकोट, मुगु, जुम्ला लगायतका जिल्लाबाट आएर बर्दियाका विभिन्न गाउँमा बसोबास गर्नेहरुले पहाडी क्षेत्रको मेलामा गाईने देउडा गीत गाएर पनि माघी मेलालाई थप रमाईलो बनाउन थालेका छन् । माघी मेला परिसरमा यस वर्ष २ गते देउडा कार्यक्रम रहेको डेउडा संयोजक शंकर बहादुर शाहीले बताए ।
बर्दियाको ठाकुरद्वारामा परम्परागत माघी मेला
माघी पर्वकै अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिर परिसरमा ५ दिनसम्म लाग्ने परम्परागत माघि मेला पनि सुरु भएको छ । ठाकुरद्वाराको मन्दिर परिसरमा ५ दिनसम्म लाग्ने परम्परागत माघी मेलाका लागि मन्दिरलाई झकिझकाउ सजाईएको छ ।
चार वर्ष अघिदेखि मन्दिर परिसर भित्रै नुहाउने कुण्डको समेत व्यवस्था मिलाईएको छ । माघे संक्रान्तिको अघिल्लो दिनदेखि पाँच दिनसम्म लाग्ने परम्परागत माघी मेलामा दाङ्ग, बांके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ भक्तजन आउने गर्छन् ।
ठाकुरबाबा मन्दिर ३ सय बर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मूर्ति फेला परेको र उचाल्न नसकेपछि त्यहीँ राखिएको धार्मिक किम्बदन्ती रहेको छ ।
थारु समुदायका महन्त पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु समुदायले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताइन्छ ।
धेरै वर्षसम्म सानो झुपडीके रुपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुने खतराबाट जोगाउन झण्डै ४५ वर्ष अघि पञ्चायतकालमा स्थानीय बासिन्दाको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुनर्निर्माण गरिएको बताइन्छ ।
उज्यालाे