☰ open Loading... 25 November 2024|  

सङ्घीय संरचनाअनुसार कर्मचारी समायोजन गर्न ऐन ल्याउँदै
  | २ माघ २०७३, आईतवार १८:३६

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि ‘कर्मचारी समायोजन ऐन’ ल्याउने तयारी गरेको छ ।

अहिले भएका कर्मचारीलाई सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नका लागि ऐन ल्याउन थालिएको मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी गराए ।

उनका अनुसार ऐन ल्याउनका लागि परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । ऐनमा अहिले रहेका कर्मचारी तीनै तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । “ऐन बनेपछि सङ्घीय संरचनाअनुसार कर्मचारीलाई सरुवा गरिन्छ”– उनले भने, “समायोजनमा कार्यालय सहायकदेखि सचिवसम्मलाई सरुवा गर्ने व्यवस्था गर्न थालिएको छ ।”

मन्त्रालयले तीनै तहमा कति कर्मचारी आवश्यक रहन्छ भनी नमुना सङ्कलन गरी कर्मचारीको समायोजन गर्ने सहसचिवसमेत रहनुभएका न्यौपानेले जानकारी गराए ।