सुर्खेत । सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेलपानी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो ।
आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत विनियोजन गर्न छोडेको छ । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँदा थप काम अघि बढ्न सकेको छैन् । सडकको ट्रयाक खोल्ने काम आधा मात्रै भएको छ ।
क्षेत्रीय व्यापार–व्यवसायका लागि महत्वपूर्ण मानिएको तेलपानी–भुरीगाउँ सडक निर्माणका लागि बजेट अभाव हुँदै आएको छ । सरकारले वर्षेनी छुट्ट्याउँदै आएको बजेट न्यून भएपछि सडक निर्माणले आवश्यक गति लिन नसकेको सम्बद्ध पक्षको भनाइ छ ।
सडकका लागि आवश्यक बजेट पाए चालू आवमै निर्माण कार्य सम्पन्न गर्न सकिने सडक डिभिजन कार्यालय, सुर्खेतले जानकारी दिएको छ । ८ वर्षअघि निर्माण थालिएको उक्त सडकका लागि ३३ करोड रुपैयाँ अनुमान गरिएको भए पनि हालसम्म १ करोड ९६ लाख ७ हजार रुपैयाँ मात्र खर्च भएको छ । उक्त रकम कुल बजेटको ५ दशमलव ९५ प्रतिशत हो ।
सुर्खेततर्फबाट निर्माण गर्नुपर्ने ३३ किलोमिटरमध्ये हालसम्म २९ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । कार्यालयले सम्पन्न गर्न बाँकी ३ किलोमिटर सडक निर्माण बाँकी छ । सुर्खेत तर्फबाट सडक सम्पन्न गर्न थप ५० लाख रुपैयाँ आवश्यक पर्ने डिभिजन कार्यालयको भनाइ छ । उक्त परिमाणमा रकम प्राप्त भए चालू आवमै सुर्खेततर्फको काम पूरा हुन्छ । बजेट अभावकै कारण आयोजना समयमै सम्पन्न गर्न कठिनाइ भएको डिभिजन प्रमुख बेलबहादुर भुजेल बताउँछन् ।
तर, अहिलेको अवस्थामा सडकको ट्या¥क खोल्ने र सडक विस्तारको काम पूरा भए पनि यातायातका साधन सञ्चालन गर्न अझै २ वर्ष पर्खिनुपर्नेछ । कार्यालयले १८ महिना भित्रमै सम्पन्न गर्ने गरी भेरी नदीमा पुल निर्माण गर्न चार वर्ष पहिले पप्पु मल्ल जेभी कम्पनी, दैलेखलाई ठेक्का दिएको थियो ।
पुल निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत काम पूरा गरेको डिभिजन कार्यालयले बताएको छ । सुर्खेत सदरमुकामबाट तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने यो सडक निर्माणले सुर्खेत–बर्दिया आवागमनमा निकै छरितो हुनेछ ।
सडक निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत भैसकेको छ । वातावरण मन्त्रालयले ईआइए स्वीकृत गरेपछि सरकारले सडक निर्माण अघि बढाएको थियो । उक्त सडकलाई तराई, पहाड र हिमाल जोड्ने सबैभन्दा छोटो सडक आयोजना भएको भन्दै २०६८ पुष ५ गते नेपाल सरकारले सचिवस्तरिय निर्यायअनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतवेदन स्वीकृत भइसकेको छ ।
ट्रयाक खोल्ने काम शुरु भएपनि बर्दियाको भुरीगाउँ तर्फको निर्माण कार्य बीचमै रोकिएको छ । पछिल्ला वर्षहरुमा सरकाले उक्त सडकका लागि बजेट समेत छुट्याउन छोडेको छ ।
सुर्खेतको उत्तरगंगाबाट बर्दिया सीमाना जोड्नको लागि ३ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ भने बर्दियाबाट करिव ५ किलोमिटर मात्रै बाँकी छ । यो सडक निर्माण भए सुर्खेतको मात्र नभएर भेरी र कर्णालीका अन्य जिल्लाहरुमा औद्योगिक विकासमा महत्वपूर्ण अयोगदान पुग्ने यहाँका स्थानीयबासीहरु बताउँछन् ।