☰ open Loading... 25 October 2024|  

गिट्टी कुटेर छाक टार्दै विस्थापित
  | ९ माघ २०७३, आईतवार १४:५८

बुढेसकालमा गिट्टी बन्यो जीवन धान्ने सहारा

द्वन्द्वकालमा विस्थापित भएकामध्ये धेरै आआफ्नै गाउँघरमा पुनस्स्थापित भइसके । उनीहरूलाई घर फर्कन राज्यले नै बाटो खर्च उपलब्ध गरायो । घरबारविहीन भएकालाई विभिन्न नाममा राहत पनि दियो । समाजमा पुनस्स्थापना हुन सजिलो होस् भनेर सरकारले आयआर्जनको कार्यक्रम दियो । तर द्वन्द्वको उदगमस्थल मानिने रोल्पाबाट २१ वर्षअघि विस्थापित भएर बझाङ आइपुगेको एक दलित परिवार यी सबै कुरासँग बेखबर छ ।

गिट्टीको सहारामा गुजारा चलाइरहेको जलवीरे दमाईको परिवार खर्च अभावमा चाहेर पनि गाउँ फर्कन सकेको छैन । २०५२ साल कात्तिकमा जलवीरे दमाई ५० वर्षका थिए । केही महिनाअघि मात्र रोल्पाको जेलबाङ गाविसमा रहेको प्रहरी चौकीलाई माओवादीले ध्वस्त पारेका थिए । गाउँमा माओवादीको राज नै चल्न थालेको थियो । लुगा सिलाएर गुजारा गर्दै आएका जलवीरे माओवादीको निसानामा परे ।

प्रहरीको लुगा सिलाएको निहुँमा उनीमाथि माओवादीले ज्यादती गर्न थाले । एक उपल्लो जातिको घरमा लुगा सिलाइरहेका उनलाई माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरे । ‘तेरो लोग्ने कता छ देखा नभए तेरो छोरोलाई अचानोमा राखेर काट्छौं भने,’ जलवीरेकी श्रीमती बिमाले घर छोड्नुको कारणबारे भनिन्, ‘४ वर्षको बच्चालाई मारेर के पाउनुहुन्छ बरु मलाई नै मार्नुस् भनें, बुढालाई भेटेनन् मलाई कुटेर गहनापात खोसेर फर्किए । त्यही राति २ नाबालकसहित हामी ज्यान जोगाउन घरबाट भाग्यौं ।’

घर, छरछिमेक र जन्मथलो छाडेर हिंडेको यो परिवार रोल्पाबाट नेपालगन्ज हुँदै विभिन्न हन्डर खाँदै नहर बनाउने ठेकेदारको पछि लागेर बझाङ आइपुगेको रहेछ ।

केही महिना नहरमा मजदुरी गरेको उनको परिवार त्यसयता सदरमुकाम चैनपुरमा गिट्टी कुटेर जीविका चलाउँदै आएको छ । उपचार खर्चको अभावमा दुई वर्षअघि २० वर्षको छोरा गुमाएको यो दम्पती ४ सन्तान भएर पनि सहाराविहीन हुन पुगेको छ ।

माइलो छोरो सहारा बनेको थियो ऊ पनि क्रिश्चियन धर्म प्रचारमा हिँडेको एक वर्ष भयो । कहाँ छ भन्ने अहिलेसम्म पत्तो छैन । ‘पहिला बूढाबूढी दुवैसँग तागत थियो ढुंगा फोडेर भए पनि केटाकेटी हुर्कायौं,’ ७२ वर्षीय जलवीरेले भने, ‘कसैलाई कालले लग्यो, कसैले छाडे । अब के गरेर बाँच्ने होला रु घर जाने खर्च भए आफ्नै माटोमा मर्ने धोको छ ।’

प्रमुख जिल्ला अधिकारी सुनील खनालले भने जलवीरे दम्पतीको अवस्थाबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘उनीहरूको अवस्था बुझेर के गर्न सकिन्छ भन्न सकिन्छ । अहिल्यै केही भन्न सक्ने अवस्था छैन ।’

-इकान्तिपुर