☰ open Loading... 19 April 2024|  

किन लगाए जनता माविमा विद्यार्थीले ताला ?
  | ९ माघ २०७३, आईतवार १९:२४

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखी उत्तर–पूर्वमा रहेको रानिबास वडा नं. ६ को जनता माध्यामिक विद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेकाछन । दुई महिनादेखि विद्यालयमा अध्यापन गराइरहेका विज्ञान शिक्षक गहेन्द्रजंग रानालाई हटाएर नयाँ शिक्षक ल्याएपछि विद्यार्थीहरुले तालाबन्दी गरेको स्थानीय डिलबहादुर खड्काले जानकारी दिए ।

school ma tala
निरन्तर पढाइरहेको शिक्षकलाई एक्कासी हटाएर नयाँ शिक्षकका रुपमा इन्द्रबहादुर खत्रीलाई ल्याएपछि दोस्रो दिन मै विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन । विद्यार्थीहरुले यस अघि नै अध्यापन गराइरहेका शिक्षक शिक्षक रानालाई नै ल्याउनु पर्ने माग गरेका थिए । नयाँ शिक्षकबाट आफूहरु सन्तुष्ट हुन नसक्ने भन्दै विद्यार्थीहरुले पुरानै शिक्षकले अध्यापन गराउने व्यवस्था नभएसम्म तालाबन्दी जारी हुने बताएका छन ।

यता जिल्ला शिक्षा कार्यालय सुर्खेतले भने केही महिनादेखि खाली रहेको राहात दरबन्दीमा विस्थापित भएका राहत शिक्षक खत्रीलाई त्यहाँ पठाएको जनाएको छ । नयाँ विज्ञापन खोल्नु भन्दा विस्तापित भएका शिक्षकलाई व्यवस्थापन गर्नका लागि खत्रीलाई त्यहाँ पठाइएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए ।

खत्री मैनतडाको झिङ्निबाट विस्थापित भएका थिए । यता विद्यालयका प्राध्यानाध्यापक विनोद कुमार यादवले भने आफू विद्यालय बाहिर रहेको र नयाँ शिक्षक विद्यालयमा समन्वय नगरी गएकोले समस्या देखिएको बताए । उनले विद्यालयमा पुगेर छलफल गरी समस्या समाधान गर्ने बताए ।