☰ open Loading... 26 July 2024|  

पश्चिम सेती आयोजनाको विस्तृत तथ्यांक माग
  | १४ माघ २०७३, शुक्रबार ०७:३२

काठमाडाैं । सरकारले भनेअनुसार ७५० मेगावाटमै डिजाइन गर्न चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी)ले आयोजना सम्बद्ध तथ्यांक आफूसित नभएकाले तत्काल उपलब्ध गराउन लगानी बोर्डलाई पत्राचार गरेको छ । अघिल्लो मंगलबार सीटीजीआईसीसित भएको बैठकमा उसले जलाशययुक्त आयोजनाको जडित क्षमता ६ सय मेगावाट हुने र सुक्खायाममा उत्पादन हुने ऊर्जा ३१ प्रतिशतमात्र हुने प्रस्तुति गरेपछि सरकारले पुरानो सहमतिअनुसार गर्न आग्रह गरेको थियो ।

सीटीजीआईसीले पश्चिम सेतीको विस्तृत र अद्यावधिक अध्ययन पूरा गरी प्रतिवेदन तयार गर्न अत्यावश्यक तथ्यांक अाफूसित नभएको गुनासो गरेको छ । विद्युत् प्राधिकरणसित २५ प्रतिशत पुँजी (इक्विटी) लगानी गर्ने सम्झौता गरेको भोलिपल्टै सीटीजीआईसीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पत्र लेख्दै ‘जलाशययुक्त पश्चिम सेती विकासका लागि तत्काल आवश्यक सूचना’ माग गरेको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

चिनियाँ कम्पनीले प्राधिकरणसित गत मंगलबार संयुक्त लगानी सम्झौता गरेको थियो । उक्त पत्रको बोधार्थ ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई दिइएको छ । लामो समयदेखि आफूले पश्चिम सेतीको प्रारम्भिक डिजाइन र सम्भाव्यता अध्ययनका क्रममा विद्युत् खरिद दरसम्बन्धी संरचना, नीति, नेपालको विद्युत् प्रणाली योजना, जग्गा प्राप्ति र पुनर्बास नीतिसम्बन्धी जानकारी उपलब्ध गराइदिन अनुरोध गर्दै आएको उल्लेख गर्दै सीटीजीआईसीका अध्यक्ष लु गोजुनले आफूले अहिलेसम्म प्राप्त गर्न नसकेको गुनासो पत्रमा गरेका छन् ।