☰ open Loading... 24 November 2024|  

सोलारले उज्यालो बन्दै बघौडा
  | २६ माघ २०७३, बुधबार १०:०२

बाँके । लामो समयदेखि विद्युतीकरण हुन नसकेको बघौडा क्षेत्रमा सोलार झिलिमिली हुने भएका छन् । पहिलो चरणमा मंगलबार साढे चार सय घरका लागि सोलार वितरण गरिएको हो । निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको रकमले अनुदान दिइएको हो ।

solar

क्षेत्र नम्बर २ का सांसद दिनेश यादवले गत आवमा सोलार योजना परिषद्मा पास गराई बजेट तय गरेका थिए । यसअघि उनीहरू टुकी बल्दै आएका थिए ।

सोलारका लागि सरकारले अनुदान दिइरहेको छ । १२ हजार मूल्य पर्ने सोलारमा १० हजार अनुदान दिएर स्थानीयका घरमा जडान गर्न थालिएको हो ।

स्थानीयले २ हजार रुपैयाँ तिरेपछि सोलार उपलब्ध गराइएको छ । त्यहाँका बासिन्दाका हरेक घर चालू वर्षमै झिलिमिली हुने जिविसको लक्ष्य छ ।

थप अनुदानका लागि वैकल्पिक ऊर्जा केन्द्रले आर्थिक सहयोग गरेको हो । बघौडाका नरैनापुर, लक्षमणपुर, गंगापुर, मटेहिया, कालाफाँटा र गंगापुरका करिब १० हजार घरमा सोलार जडान गरिनेछ ।

‘चालु वर्षमा बघौडा क्षेत्रका सबै घरमा सोलार जडान भइसक्ने छन् । यसले गाउँ अन्धकारमुक्त हुनेछ,’ जिविसका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले भने, ‘त्यसका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ ।’

त्यस क्षेत्रमा विद्युतीकरण सेवा विस्तारका लागि डेढ वर्ष अघिदेखि प्रयास भइरहेका छन् । अझै पनि विद्युत् विस्तार हुन लामो समय लाग्न सक्ने भन्दै सोलार जडान काम सुरु गरिएको जिविसले जनाएको छ ।

राप्तीपारिको ९ गाविसमा विद्युतीकरणका लागि काम सुरु गरिएको थियो । तर, वर्षोदेखि गाडिएका पोल जीर्ण भएर ढलिसकेका छन् । सामुदायिक विद्युतीकरणका लागि सुरुमा स्थानीयले २० प्रतिशत रकम व्यहोर्ने भनिएको थियो ।