☰ open Loading... 5 May 2024|  

स्ववियु निर्वाचन : गुटबन्दीले उम्मेद्वार छनौटमा विवाद
  | १ फाल्गुन २०७३, आईतवार १०:०२

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन करिब आठ वर्षपछि यही फागुन १४ मा हुने निश्चित भएपछि अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन अहिले प्रचार–प्रसारमा जुटेका छन् ।

आगामी निर्वाचनबाट आफ्नो संगठनलाई सबैभन्दा बलियो बनाउने उदेश्यसहित विद्यार्थी संगठनहरु विभिन्न क्याम्पसमा क्रियाशील पनि बनेका छन् । त्रिभुवन विश्व विद्यालयले स्ववियुमा उम्मेदवार बन्न उमेर हद २८ वर्ष तोकेपछि विगतका निर्वाचनमा जस्तो उम्मेदवारका लागि निकै प्रतिष्पर्धा नहुने देखिएको छ ।

याे पनि पढ्नुस् : स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

यतिखेर आफ्नो संगठनलाई कसरी विजयी गराउने र आफ्नो पोल्टामा पार्न सकिन्छ भनि विद्यार्थी नेताहरुको दौड धुप निकै चलिरहेको छ । सुर्खेतमा गुट र उपगुटका कारणले गर्दा सभापतिको उम्मेदवारहरुको नामावलीको टुङ्गो लाग्न सकेको छैन । आ–आफ्नो गुटका विद्यार्थी नेतालाई स्ववियु सभापति बनाउने भन्ने विषयमा नेताहरुबीच विवाद हुदाँ हाल सम्म कुन संगठनबाट कुन व्यक्तिलाई उम्मेदवार उठाउने भन्ने निर्णय हुन नसकेको हो । पछिल्लो समय एउटै संगठनबाट २÷३ जनाले सभापतिको उम्मेदवार बन्ने चाहना प्रकट गरेपछि नेताहरुलाई उम्मेद्वार छान्न हम्मेहम्मे परेको स्रोतले जानकारी दियो ।

Nirbachan
नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थी नेताका अनुसार नेपाल विद्यार्थी संघबाट २ जनाले सभापति पदका लागि निर्वाचनमा भिड्ने तयारी गरेका छन् । आगामी १४ गते हुने त्रिभुवन विश्वविद्यालयको निर्वाचनका लागि नेविसंघबाट राजकुमार सिजापति र गेहेन्द्र दाहाल सभापतिको पदमा उठ्ने निकै चर्चा चलेको छ ।

पार्टीको अन्तरिक विवादका कारणले गर्दा यी दुइ मध्ये दाहाल उठने कि, सिजापति उठने भने टुङ्गो लाग्न सकेको छैन । नेपाली कांग्रेसमा केन्द्रमा कोइराला पक्ष र देउवा पक्ष भने जस्तै सुर्खेतमा पनि खड्का गुट र थानी गुट छन् । यी दुबै गुटको कुरा नमिल्दा कसलाई सभापतिको उम्मेदवार उठाउने भनने बारेमा निष्कर्षमा पुग्न नसकिएको स्रोतले जनाएको छ ।

यस्तै, एमाले निकट अनेरास्ववियुको संगठनबाट सभापतिका लागि हाल सम्म चक्र शाही र हिक्मत बस्नेतको चर्चा निकै चलेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनमा गुटबन्दीका कारणले गर्दा सभापतिको उम्मेदवारको अन्तिम निर्णय हुन सकेको छैन ।

अखिलमा पनि ओली गुट र माधव गुटको प्रभाव परेको देखिन्छ । अखिलले यो विवाद मिलाउन अझै समय लाग्ने कतिपयको आशंका छ । यी दुवै विद्यार्थी नेतालाई जिल्लाका शक्तिशाली नेताहरुले साथ दिएका बताइएको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट हाल सम्म दुई जनाले सभापति बन्ने इच्छा जाहेर गरेका छन् । जसमा महेश जिशी र तिलक ओलीले सभापतिको उम्मेदवारीका लागि प्रस्ताव राखेका बताइएको छ । यी दुई जना बीच आन्तरिक कुरा नमिल्दा उम्मेदवारीको टुङ्गो लाग्न सकेको छैन ।

उता मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनावमा चौथो शक्तिको रुपमा आएको नयाँ शक्ति निकट विद्यार्थी युनियनबाट भने सभापतिको टुङ्गो लागि सकेको छ । नयाँ शक्तिबाट मानबहादुर शाही चुनावी मैदानमा उत्रिने भएका छन् ।

अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खडकाले सुर्खेतमा क्याम्पस शिक्षा, सिम्ता बहुमुखी क्याम्पस राकम, गुर्वाकोट बहुमुखी क्याम्पस सहारे, हिमशिखर बहुमुखी क्याम्पस रामघाट, भेरी शिक्षा क्याम्पस गुमी, अमरदीप क्याम्पस नेवारे, जनता बहुमुखी क्याम्पस विद्यापुरमा स्ववियु निर्वाचन हुनेछ । यी सबै क्याम्पसमा करिब ६ हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।
स्राेत : सिद्वदर्शन दैनिक