☰ open Loading... 26 October 2024|  

जथाभावी लाली गुराँस टिप्न माथि विशेष निगरानी
  | ७ फाल्गुन २०७३, शनिबार १३:०६

सुर्खेत । लाली गुराँस नेपालको राष्ट्रिय फुल हो । राज्यले लाली गुराँसलाई राष्ट्रिय फुलको रुपमा पनि घोषणा गरेको छ । शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा फुल्ने लाली गुराँसलाई राज्यले संरक्षण गर्नका लागि हालसम्म कुनैपनि योजनाहरु सार्वजनिक गर्न सकेको छैन् । तर गढी र लेखगाउँमा गत माघमा गुराँस संरक्षण दस्ता गठन गरेर जथाभावी फुल टिप्नेलाई निरुत्साहित पर्ने अभियान जारी राखेका छन् ।

नेपालको संविधान २०७२ ले पनि लाली गुराँसलाई राष्ष्ट्रिय फुलको रुपमा मान्यता दिएको छ । सुर्खेतको चुरे क्षेत्रहरुमा पनि लाली गुराँस अत्याधिक रुपमा यो मौसममा पाइन्छ । विगतका वर्षहरुमा दैलेख र सुर्खेतका सीमानामा पर्ने रातानाङ्गला र गुराँसेमा फुल हेर्नका लागि धेरै आन्तरिक र बाहिरि पर्यटकहरु पुग्ने गर्दछन् । अधिकाँशले राम्रोसंग फुल फुल्न नपाउँदै टिपेर सक्न थालेपछि रोक्न यो पटक दस्ता नै गठन गरिएको गुराँस संरक्षण दस्ताका संयोजक लोकेन्द्र रोकायले जानकारी दिए ।

याे पनि पढ्नुस् : ‘लालिगुराँस संरक्षण’ गर्न युवा दस्ता
दस्ता गठन भएको एक महिना वित्न नपाउँदै गढीको छेडामा लाली गुराँस टिपेर ल्याउनेलाई पहिलो पटक सम्झाई बुझाई गर्न थालेपछि फुल टिपेर ल्याउने क्रम रोकिएको संयोजक रोकायको भनाई छ । ‘विगतका वर्षहरुमा साना ठुला सवारी साधनमा सवार र अन्य व्यक्तिहरुले लाली गुराँस टिपेर ल्याउने गरेका थिए’ रोकायले भने,–‘यो वर्ष फुल ल्याउनेलाई छेडामै रोकेर कारवाहीको गर्ने गरेका छौं ।’

 
सामुदायिक सुधार संस्था र सामुदायिक प्रहरी सेवा केन्द्र सुर्खेतले गठन गरेको गुराँस संरक्षण दस्ताले छेडा भएर जाने आन्तरिक र बाह्य पर्यटकलाई लाली गुराँस नटिप्न जानकारी समेत दिँदै आएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लाली गुराँसका वनहरुले दिने सौन्दर्यमा कमी आउन नदिन र फूल फुल्दा फुल्दै टिप्ने कार्य निरुत्साहन गर्न आफूहरुले समन्वय गरेको जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।

उनले फूल टिप्नलाई हैन, यसको सौन्दर्य हेरेर आनन्द लिने सन्देश छर्न सफल भएको बताए । जथाभावी रुपमा फुल टिप्ने ब्यक्तिहरुलाई कारवाही गरिने उल्लेख गर्दै वन अधिकृत विष्टले लाली गुराँस फुलको संरक्षण गर्न जिल्ला वन एक्लैको प्रयासबाट नहुने भएकाले सवैको सहयोग आवश्यक रहेको बताए ।

राष्ट्रिय फुल लाली गुराँसको भक्षक होइन रक्षक बनौं भन्दै सुर्खेत दैलेख सडक खण्डमा विभिन्न जनचेतनामुलक सन्देशसहित वोर्डहरु राखिएको छ । सामुदायिक सुधार संस्थाले पहल गरिरहेको बेला जिल्ला स्थित पर्यटन व्यवसायीहरुले भने लाली गुराँस संरक्षणमा कुनै चासो देखाएका छैनन् । लाली गुराँस फुलहरु टिपेर सामाजिक सञ्जालमा हाल्न क्रम बढेकाले रोक्नका लागि थालिएको अभियान प्रभावकारी भएको वन अधिकृत विष्टको भनाई छ ।

फुल टिप्ने व्यक्तिलाई जिल्ला वन कार्याालयका कर्मचारी र प्रहरीले कारवाही शुरु गरेको छ । संरक्षणका लागि जिल्ला वन कार्यालय मार्फत दैनिक अनुगमन भईरहेको उल्लेख गरे । उनका अनुसार छेडामा रहेका प्रहरीलाई फुल टिपेर ल्याएमा लाली गुराँस जफत गर्न जिल्ला प्रहरी कार्यालयबाट निर्देशन भएको छ ।

सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईले नेपाल प्रहरी, नेपाली सेना र जिल्ला बन कार्यालयको सहकार्यमा गुराँस संरक्षण अभियानका लागि गठन गरिएको दस्ताले काम गरिरहेको जानकारी दिए । उनले अव स्थानीयले मात्रै होइन, गुराँस हेर्न जानेले पनि जथाभावी फूल टिपेर ल्याउन नपाउने बताए ।

लाली गुराँस जथाभावी टिपेर ल्याएको पाइएमा कारवाही गर्न अभियान पनि शुरु भएको उनले उल्लेख गरे । अध्यक्ष भट्टराईका अनुसार जिल्ला वन कार्यालयको सहकार्यमा रातानाङ्गला, प्रहरीसँगको सहकार्यमा छेडा र नेपाली सेनासँगको सहकार्यमा कपासेमा चेकजाँच थालिएको छ । ‘हाम्रो पहिलो काम स्थानीहरुलाई जागरुक गर्ने हो’ उनले भने, ‘दोस्रो चरणमा चेकपोष्ट स्थापना गरेरै कारवाही प्रक्रियामा जाने तयारीमा रहेका छौं ।’