| १६ फाल्गुन २०७३, सोमबार १७:४५
चौरजहारी–८ घर्तीकाँडाका जयप्रकाश बोहरा गत शुक्रबार आफ्नै बारीमा तरुल खन्न निस्किए । तरुल निकाल्न आफ्नै सुरमा जमिन खनिरहेका उनले त्यहाँ तरुल होइन, बम पो भेटे ।
प्लास्टिकले बेरेको अवस्थामा एउटा र केही भाग देखिएको अर्को गरी २ वटा बम भेटिएपछि बोहराले तत्कालै प्रहरी चौकीमा खबर गरे । उनको आस थियो तत्काल बम निष्क्रिय पारिदेलान् र दैनिक क्रियाकलाप अघि बढाउँला । तर उनले सोचेजस्तो भएन ।
खबर पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरीले चौरजहारीस्थित ज्वालादल गणको ‘क’ गुल्मलाई खबर गरेपछि स्थानीय खुसी भएका थिए । तर बम भेटिएको ३ दिन बित्दासमेत निष्क्रिय बनाउन टोली नपुग्दा स्थानीय त्रसित छन् । चौरजहारीबाट घटनास्थल पुगेको नेपाली सेनाले बम निष्क्रिय पार्न टोली छिट्टै पठाउने बताए पनि अहिलेसम्म घटनास्थलमा पुगेको छैन ।
प्रहरी नायब उपरीक्षक अंगुर जीसीले उक्त बम सशस्त्र युद्धको क्रममा गाडेको हुन सक्ने बताए । प्रहरीले बम निष्क्रिय गर्न नमिल्ने भएकाले ३ दिनदेखि पहरा दिइरहेको उनले जानकारी दिए । उनले नेपालगन्जबाट बम निष्क्रिय पार्न टोली बोलाइएको बताए । टोली नेपालगन्जबाट हिंड्न ढिला भएकाले सोमबारसम्ममा बम निष्क्रिय पारिने बताए । उक्त ठाउँमा ठूलो प्लास्टिक भएकाले अरू पनि बम हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
बमलाई कसैले चलाए दुर्घटना हुने भएकाले घटनास्थललाई प्रहरीले तीन दिनदेखि २४ सै घण्टा घेरा हालेर राखेको छ । ‘यस क्षेत्रका सबै त्रासमै छौं,’ बोहराले भने, ‘यो चाँडै निष्क्रिय पारिदिए सुखले कामकाजतर्फ लाग्ने थियौं ।’