☰ open Loading... 3 May 2024|  

दैलेखमा मकै र सुन्तलाको ब्लक निर्माण गरिने
  | २४ फाल्गुन २०७३, मंगलवार १५:३७

प्रधानमन्त्री कृषि आधुनिककरण परियाजना अन्तरगत दैलेख जिल्लामा मकै र सुन्तलाको दुई वटा ब्लक निर्माण गरिने भएको छ । दैलेख जिल्लामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले प्रथम वर्ष २०७३।०७४ का लागि ५० हेक्टरमा मकै र ५० हेक्टर सुन्तलाको ब्लक निर्माण गरिने भएको हो ।

परियोजना सञ्चालन हुनु पुर्व जिल्ला कृषि विकास कार्यालय दैलेखले आयोजना गरेको जिल्ला स्तरको अभिमुखिकरण उक्त कुरा बताइएको हो । उक्त ब्लक निर्माणका लागि सडकको पहुच संगै सिचाईको उपलब्धता हुनु पर्ने बताइएको छ । यस्तै विद्युतको उपलब्धता र तोकिएको क्षेत्रफल चक्लाबन्दी भएको वा एउटै कोरिडोरमा हुनुपर्नेछ ।

जिल्ला कृषि विकास कार्यालयले ब्लक क्षेत्रका कृषक समूह, सहकारी, जल उपभोक्ता समिति लगाएत अन्य सरोकारवाला निकायहरुलाई अभिमुखिकरण सञ्चालन गर्नेछ । प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि बस्तुहरुको मूल्यअभिबृद्धी गर्दै प्रतिशपर्धात्मक क्षमता बृद्धी गर्ने उदेश्य राखेको छ । यस्तै कृषि लाई सम्मानजनक नाफामुखि व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अबसर सृजना गर्ने तथा बहुसरोकारवाला निकायहरु विचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने बताइएको छ ।

कृषियोग्य जमिनको एकिकरण, विशिष्टिकृत व्यवसायीकरण, उन्नत प्रविधि र गुणस्तरिय पूर्वाधार विकास गर्ने परियोजनाको अवधारणा राखेको छ । परियोजना सञ्चालनका लागि दैलेख जिल्लामा साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमका लागि ४५ लाख त्यस्तै व्यवसयीक कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम १ करोड ३६ लाख गरि जम्मा १ करोड ८३ लाख रुपैया विनियोजन गरिएको छ । परियोजना सञ्चालनका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले जिल्लाका कृषिको पकेट क्षेत्र छनौट गरि सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।