| १ चैत्र २०७३, मंगलवार ११:३७
डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः भएको छ ।उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर हिलो भएपछि अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो ।
यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् ।
विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएकाछन् । आज मात्रै तारा एयरलायन्सले नेपालगन्जदेखि एउटा उडान भरेको छ ।