☰ open Loading... 2 May 2024|  

प्रदेश ६ को विकासमा कटिवद्ध छु : अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार रेग्मी
  | १० चैत्र २०७३, बिहीबार १९:४६

सुर्खेत सुर्खेतमा रहेको सिद्धपाइलालाई संसारकै ठुलो पाईला बनाउने योजना अगाडि बढाउने प्रतिवद्धता अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले बताएका छन् । बिहिबार वीरेन्द्रनगरमा सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले संसारकै ठुलो पाईला स्थापना गर्न आफूबाट हुने सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।

सिद्धपाइलालाई हेर्न लायक बनायो भने देश विदेशका पर्यटक भित्रिने र यो प्रदेश अन्य प्रदेशभन्दा समृद्ध बन्ने बताएका रेग्मीले छ नम्बर प्रदेश ठुला ठुला नदीहरुले घेरिएकाले कर्णाली नदी र भेरी नदीको किनारै किनार रेल्वे परियोजनाहरु सञ्चालन गर्न सकिने सम्भावनाहरु पनि रहेको उल्लेख गरे ।

‘प्रदेशको दक्षिणदेखि उत्तरसम्म सवै जिल्लालाई नदीले छुने भएकाले यसले छुट्टै महत्व बोक्नेछ’ उनले भने,–‘बर्दियाको चिसापानी देखि जुम्लासम्म जाने र भेरीको किनारै किनारले जाजरकोटको अगाडिसम्म गएकाले नदीको किनारै किनारमा रेल्वे विस्तार गर्दा कर्णाली प्रदेशका स्थानीयलाई यातायातमा सरल र सहज पुग्छ ।’

कर्णाली राजमार्ग अन्तरगत पनि सुरुङ निर्माणको सम्भाव्यता भएको उनको भनाई छ । यसरी यातायातमा सास्ति भोग्दै आएका कर्णाली प्रदेशका नागरिकलाई छोटो र सहज यातायात सुविधा प्रयोग गर्ने खालका योजनाहरु निर्माण गर्नमा कुन कञ्जुसाई नगर्ने पनि बताए । उनले नितिमा एउटा प्रदेशमा एक अन्र्तराष्ट्रिय विमान स्थल हुने योजना अघि बढाएको उल्लेख गरे ।

यस क्षेत्रका सम्भावना र आर्थिक समृद्धिका योजनाहरुका बारेमा संघका अध्यक्ष प्रकाश अधिकारीले स्पष्ट परेका थिए । संघले रेग्मीलाई प्रधानमन्त्री प्रचण्डलाई बुझाएको २० बुदे मागका विषयमा पनि जानकारी गराएको थियो । रेग्मीले यस प्रदेश नम्बर ६ सहित सुर्खेतको विकास लागि आफूले सक्दो सहयोग गर्नमा कुनै कञ्जुसाई नगर्ने बताएका थिए ।