☰ open Loading... 25 December 2024|  

सुर्खेतको जनसभामा के बोले माओवादीका केन्द्रीय नेताले ?
  | ११ चैत्र २०७३, शुक्रबार २०:४३

सुर्खेत । लामो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र आएकाले यसलाई स्थापित गर्न तीनै तहको निर्वाचन आवश्यक रहेको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले बताएका छन् । नेकपा माओवादी केन्द्रले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता बादलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नका आगामी माघसम्म ३ वटै तहको चुनाव हुन आवश्यक रहेको बताएका हुन् ।

 ‘जनताको हितका लागि तीनै तहको चुनाव आवश्यक छ’ बादलले भने,–‘चुनाव भएपछि स्थानीय निकायमा निर्वाचित जनप्रतिनीधिहरुबाट जनताले सरकारको अनुभुति पाउनेछन् ।’ तर बादलले अव हुने तीन तहकै निर्वाचनमा माओवादीलाई मत दिएर पहिलो पार्टीको रुपमा स्थापित गराउने गरी पार्टीका नेतादेखि कार्यकर्ताहरुलाई लाग्न निर्देशन समेत दिए । काँग्रेस र एमाल जनताप्रति उत्तरदायि नभएको आरोप लगाउँदै भने,–‘नागरिकहरुको भावना बुझ्ने पार्टी नेकपा माओवादी केन्द्र नै भएकाले जिताउने दायित्व पनि तपाईहरुकै हो ।’

 सशस्त्र जनयुद्धदेखि यता नेकपा माओवादीले थुप्रै आमुल परिवर्तन गरेको दावि गरेका नेता वादलले  माओवादी पार्टी सदैव सर्वहारा, निमुखा र श्रमजीवीहरुको पार्टी भएको जिकिर गरे । श्रमजीवीहरुका पीडा माओवादी बाहेक अरु कुनै पनि पार्टीले बुझ्न नसकेको भन्दै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दावी गरे ।

बादलले उत्पीडित वर्गको मुक्तिका लागि माओवादीहरु बीच एकता हुनुपर्नेमा जोड दिएका थिए । उपेक्षित र उत्पीडित समुदायको अधिकार नयाँ संविधानले ग्यारेण्टी गरेको बताएका बादलले संविधान कार्यान्वयनलाई प्राथमिकतामा आफ्नो पार्टीले राखेको तर्क राखे ।

 ‘हामी सवैको सपना स्वाधिनता हो’ बदलले भने,–‘हामीले खोजेको स्वाधिनताको राष्ट्र निर्माण गर्न एकताको खाँचो छ । सोचे जस्तो प्रगति नभएकोमा विचलित नहुन पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरेको बादलले थपे,–‘परिवर्तन रातारात हुने हैने विस्तारै हुन्छ, तर यसका लागि  सबैका साथ र समर्थन हुन जरुरी छ ।’

बाध्यताले नेपाली युवाहरुले देशमा खर्चिनु पर्ने परिश्रम आज अरवका खाडीमा खेर फाल्नु परेकोमा दुख व्यक्त गर्दै उनले पछाडी परेको विकास, आर्थिक, उद्योगधन्दा लगायतलाई अघि बढाउन आफूहरु हरबखत लागेको उल्लेख गरे । अवको लडाई आर्थिक समृद्धिको बताएका उनले माओवादीलाई अवको चुनावमा पहिलो पार्टीको रुपमा स्थापित नगरिए अन्य पार्टीले दशे अनिर्णयको बन्दी बनाइ राख्ने भनाई राखे । प्रतिपक्षमा बसेर सरकारको धज्जी उडाउने काम नगर्न एमालेलाई सुझाव दिएका बादलले नयाँ नेपाल निर्माणमा एकमत भएर अघि बढ्न आग्रह गरे ।

 सभामा पूर्वगृह मन्त्री तथा प्रदेश नम्बर ६ का ईन्चार्ज शक्ति बस्नेतले आर्थिक विकासका लागि माओवादीले नै विगतदेखी वकालत गर्दै आएकाले यसको अगुवाई पनि आफूहरुले गर्ने जिकिर गरे ।

सडक, कुलो, भौतिक संरचना लगायतका विकास निर्माण भएर मात्र नहुने बताएका बस्नेतले माओवादीले जहिले पनि गुणस्तरलाई ध्यान दिएर खवरदारी गरिरहेको दावी गरे । काँग्रेस र एमालेको बाटोमा माओवादी हैन, अव माओवादीको एजेण्डामा उनीहरु समाहित भएको उनको तर्क थियो ।

बस्नेतले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा माओवादीलाई वडा, गाउँ र नगरपालिकामा जिताएर पहिलो पार्टीको रुपमा स्थापित गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । सभामा संसदीय दलका सचेतक तथा सांसद् सिता नेपालीले  माओवादीले हारे देशले हार्ने भन्दै जनयुद्धका उपलव्धिहरुलाई संस्थागत गर्न स्थानीय तहको चुनावमा जिताउने गरी लाग्न अपिल गरिन् ।

संविधान कार्यान्वयन गर्नमा सवैका साथ आवश्यक रहेको बताएकी नेपालीले चुनावमा वडा, गाउँ, नगरमा माओवादी केन्द्रको वर्चश्व हुने ठोकुवा गरिन् । तर सांसद् नेपालीले सुर्खेतका बाढीपहिरो विस्थापितलाई भुकम्पसरह राहत दिने पहल आफूले गरेको बताईन् ।

उनले बाढीपहिरोबाट क्षतीग्रस्त आयोजना निर्माणका लागि यसै वर्ष १५ करोड बजेट विनियोजन भएको बताईन् । सभामा माओवादी केन्द्रका सचिवालय सदस्य कालिबहादुर मल्ल, प्रदेश नम्बर ६ का इन्चार्ज मायाप्रसाद शर्मा लगायतका नेताहरुले स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । यसैविच, माओवादी केन्द्र सुर्खेतले वीरेन्द्रनगरको मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्मालाई उम्मेदवारी घोषणा गरेको छ ।