☰ open Loading... 2 May 2024|  

स्थानीय तह निर्वाचन : सुर्खेतमा मुख्य पदमै आकांक्षीको लर्को
  | १९ चैत्र २०७३, शनिबार ०८:१७

सुर्खेत । संविधानले नयाँ संरचनाअनुसार वडा तहलाई पहिलेभन्दा निकै अधिकारसम्पन्न बनाए पनि स्थानीय निर्वाचनका आकांक्षी वडामा उठ्न उत्साही देखिएका छैनन् । उनीहरू सबैजसो गाउँपालिका वा नगरपालिका नै ताक्न थालेका छन् ।

‘संविधानले केन्द्रका अधिकार कटौती गरेर स्थानीय तहलाई दिए पनि आकांक्षीको बुझाई पुरानै संरचनाअन्र्तगतको भूमिका होला भन्ने रहेछ । त्यसैले सबैको आकांक्षा मुख्य पदमै देखियो,’ नेकपा एमालेका पोलिटब्युरो सदस्य यमलाल कँडेलले भने, ‘पार्टीले बेलैमा नेताकार्यकर्तालाई स्थानीय तहको अधिकार नबुझाई टिकट वितरण गर्नतिर लागे आकांक्षी व्यवस्थापन कठिन हुने रहेछ ।’ मुख्य पदमै ‘सहयोग गरिदिन’ भन्दै आकांक्षीहरू आफूकहाँ आइरहेको उनले बताए ।


एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड बनाएपछि कँडेल अहिले ६ नम्बर प्रदेशको कमिटी सहसंयोजकका रुपमा खटिएका छन् । पार्टीले जिल्ला कमिटीलाई वडा र प्रदेश कमिटीलाई गाउँ–नगरपालिकाको उम्मेदवार छनोट गर्ने अधिकार दिएको छ ।

जिल्लामा ९ स्थानीय तहमा गरी ९९ वडा छन् । साबिकको सिंगै गाविसलाई अहिले एउटा वडा कायम गरिएको छ । तर, अधिकांश नेताहरूको ध्यान वडाध्यक्षमा छैन् । एमालेबाट वीरेन्द्रनगरको मेयरका लागि एउटै वडाबाट चारपाँच जनासम्मले दाबी गरेका छन् । वीरेन्द्रनगरमा १६ वडा छन् । यो प्रदेशको राजधानी हुने नगर हो । योग्यता, क्षमता र सांगठनिक योगदानका हिसाबले वडाबाट प्रतिनिधित्व गनुपर्ने नेताहरूले समेत सिधै मेयररउपमेयर ताक्ने गरेका छन् ।

०७० को संविधानसभा निर्वाचनमा यहाँका तीन वटै निर्वाचन क्षेत्र जितेको नेपाली कांग्रेसमा पनि यस्तै समस्या देखिएको छ । कांग्रेस नेता पूर्णबहादुर खड्का, हृदयराम थानीदेखि जिल्ला पार्टी नेतृत्वसमक्ष आकांक्षीहरू मेयररउपमेयर पद माग्दै पुगिरहेका छन् ।
कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीले स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले जिम्मेवारीबारे अन्योल बढ्नु स्वाभाविक भएको बताए ।

मुख्य पदका आकांक्षीहरू धेरै भएकाले पार्टीले निश्चित मापदण्ड बनाएर टिकट वितरण गर्ने उनको भनाइ छ । ‘योग्य, सक्षम, क्रियाशील र लोकप्रियताका आधारमा पार्टीले बनाउने मापदण्डभित्रबाटै उम्मेदवार छनोट हुन्छ,’ उनले भने, ‘कांग्रेसले वडा सदस्यदेखि मेयर पदसम्म भोलिको स्थानीय सरकार हाँक्न सक्नेलाई पठाउँछ ।’ माओवादी केन्द्रबाट आकांक्षी कम भएकाले उसले मुख्य पदहरूमा लगभग टुंगो लगाइसकेको छ । पार्टीका जिल्ला संयोजक कृष्ण जीसीले उपयुक्त व्यक्तिलाई उम्मेदवार बनाउने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक प्रचण्ड पोखरेलले पार्टीहरूले प्रमुखरउपप्रमुखमात्र नभई वडाध्यक्ष, वडा सदस्यहरू योग्य र सक्षम व्यक्ति नपठाए संघीयता कमजोर हुने खतरा औंल्याए । ‘सबै पार्टीहरूमा हेर्दा वडाध्यक्ष बन्ने आकांक्षी निकै कम छन् । यसले के देखाउँछ भने पार्टीले वडाध्यक्षका लागि राजनीति, विकास र समाज नबुझेको व्यक्तिलाई पठाउन सक्छन् । सचेत, बुद्धिजीवी तप्काले पार्टी नेतृत्वलाई समयमै सजग गराउन आवश्यक छ ।’

ekantipur