☰ open Loading... 2 May 2024|  

सामुदायिक वनद्वारा सीमा सडक निर्माण
  | २१ चैत्र २०७३, सोमबार ०८:३९

बैतडी । यहाँको दुर्गम शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता वनले आफ्नै लगानी सीमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण गरेको छ ।

कुल रु एक करोड पाँच लाखमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसवाट रु २५ लाखबाहेक अरु सबै रकम सामुदायिक बनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक उपभोक्ता वनका सदस्य कर्णसिंह साउदले जानकारी दिए । सडक निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का दिइएको हो ।

शिवनाथ गाउँपालिकाको सुल्लेखानदेखि नेपाल भारत सीमा जोड्ने नागार्जुन घाटसम्मको उक्त २६ किलोमिटर सडक निर्माण गरिएको हो । अमरगढी सामुदायिक उपभोक्ता वनले हिमाल रोजिन कम्पनीसँग सल्लाको खोटो सङ्कलन गर्न दिने गरी सम्झौता भएको उनले बताए ।

सुल्लेखानदेखि बस्कोटीसम्मको ११ किलोमिटर सडक गत वर्ष निर्माण गरिएको हो भने बस्कोटीदेखि नागार्जुन घाटसम्मको १५ किलोमिटर सडक यो वर्ष निर्माण सम्पन्न भएको हो ।

हिमाल रोजिन कम्पनीलाई अझै पनि रु ४० लाख तिर्न बाँकी रहेको समेत साउदले जानकारी दिए । हाल उक्त सडक निर्माण भएपछि त्यो क्षेत्रका नागरिकलाई सजिलो भएको शिवनाथ–१ की कमला चाँडले बताए । उनले भने “सधैँ भारतको निर्भरता हटेको छ ।”