☰ open Loading... 30 April 2024|  

एडिस्नल फोर्स परिचालन गरेर भएपनि एकै चरणमा निर्वाचन हुन्छ : अायुक्त शाह
  | २८ चैत्र २०७३, सोमबार १५:४१

सुर्खेत ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी भैरहेको जनाएको छ । वीरेन्द्रनगरमा सोमबार आयोजित निर्वाचन अधिकृतहरुका लागि निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त सुधिरकुमार शाहले प्रदेश नम्बर दुईमा चुनाव हुदैन कि भनेर शंका पालेर नबस्न आग्रह गरे ।

‘एडिस्नल फोर्स परिचालन गरेर भएपनि दुई नम्बर प्रदेशमा आयोगले चुनाव गराउछ’ उनले भने, ‘चार वटै सुरक्षा निकायसंग परामर्श गरिरहेका छौं । त्यहाँको सुरक्षा स्थिति नियन्त्रित नै छ । त्यसैले देशभर एकै दिन निर्वाचन हुन्छ ।’

आयोगका उच्चस्तरीय सुरक्षा समन्वय समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त शाहले ०७० सालको संविधानसभा निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै नेपाली सेनालाई भूमिका दिने बताए ।

उनले निर्वाचन आचारसंहितालाई कडाईका साथ पालना गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । गृहमन्त्री बिमलेन्द्र निधिसहितका दुई मन्त्रीले आचारसंहिता उल्लंघन गरेकाले स्पष्टिकरण सोधिएको उनको भनाई थियो । ‘तर, उहाँहरुले स्पष्टिकरण दिन डराइरहनुभएको छ’ आचारसंहिता अनुगमन समितिका संयोजक शाहले भने, ‘पुन: स्पष्टिकरण माग्छौं । यदि अटेर गरे आयोग कानुनी कदम चाल्न बाध्य हुन्छ ।’

दुई दिने प्रशिक्षणमा मध्यपश्चिमका दाङ, सल्यान, रुकुम, प्यूठान, जाजरकोट, डोल्पा, मुगु कालिकोट, जुम्ला, हुम्ला जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता छ ।

सुर्खेत प्रमुख जिल्ला अधिकारी महादेव पन्थले निर्वाचन अधिकृतहरुले राजनीतिक दलसंगको यथोचित सम्बन्ध कायम गर्नुपर्ने सुझाव दिए । निर्वाचन आयोगले जिल्ला न्यायधिसलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवस्तरका कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।