☰ open Loading... 17 May 2024|  

जुम्लामा २९० सरक्षाकर्मी थप
  | २६ बैशाख २०७४, मंगलवार ११:५८

जुम्ला । निर्वाचन सफल पार्न सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेका ४ सय ८६ जना प्रहरी अपुग भएपछि थप प्रहरी मगाइएको छ ।स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्न जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मी ल्याइएको हो ।

चुनावलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु ल्याइएको जनाएको छ । जुम्ला ल्याइएका प्रहरीहरुमा ६० जना सशस्त्र प्रहरी र ६२ जना म्यादी प्रहरी छन् भने बाँकी नेपाल प्रहरी हुन् । जुम्लाका प्रत्येक मतदान केन्द्रको सुरक्षा दिन ३ सय ५३ जना म्यादी प्रहरी सहित ७ सय ५० बढि प्रहरी परिचालन हुँदैछन् ।

डिएसपि गुरुविष्णु काँफ्लेका अनुसार जुम्लामा रहेका ७६ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्र मध्ये अति संवेदनशिल, संवेदनशिल र सामान्य मतदान केन्द्रका रुपमा विभाजन गरि सुरक्षा व्यवस्था कडाई गर्ने योजना तयार पारिएको छ । ७६ वटा मतदान स्थल मध्ये अतिसंवेदन शिलमा ४१, संवेदनशिलमा ९ र सामान्यमा २६ मतदान स्थल छन् ।

अतिसंवेदनशिल र संवेदनशिल मतदान केन्द्रमा सइको नेतृत्वमा प्रहरी जवान र म्यादि प्रहरी सहित १० जना प्रहरी परिचालन हुनेछन् । सामान्य मतदान केन्द्रमा ५ जना प्रहरी जवान र ४ जना म्यादि प्रहरी परिचालन गरिने डिएसपी काफ्लेले जानकारी दिए ।

हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० जना र जिल्ला निर्वाचन कार्यालयमा ५ जना प्रहरी सुरक्षाको लागि खटाईएको छ भने चन्दननाथ नगरपालिकासहित ७ वटै गाउँपालिकामा ३÷३ जनाको प्रहरी टोली पनि परिचालन गरिएको छ ।