☰ open Loading... 17 May 2024|  

काँग्रेसको चुनावी सभा : काँग्रेसका उम्मेदवारलाई जिताउन पूर्वगृहमन्त्री खड्काको आग्रह
  | २५ बैशाख २०७४, सोमबार १८:५०

सुर्खेत । पूर्व गृहमन्त्री एवं सुर्खेत क्षेत्र नं. १ का सांसद पूर्णबहादुर खड्काले प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतको केन्द्रविन्दु वीरेन्द्रनगर नगरपालिकाको समृद्धिका लागि यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् ।

उनले कांग्रेसले जे भन्छ, त्यही गर्छ र जे गर्छ, त्यो मात्रै भन्ने भएकोले समृद्ध वीरेन्द्रनगर बनाउनका लागि कांग्रेसको जीत अपरिहार्य भएको जनाए । नेपाली कांग्रेस वीरेन्द्रनगर चुनाव प्रसारप्रसार समितिले सोमवार आयोजना गरेको चुनावी सभामा बोल्दै नेता खड्काले योजनावद्ध र समृद्ध नगरपालिका बनाउनका लागि कांग्रेसले जित्नै पर्ने उल्लेख गरेका छन् ।

इतिहासदेखि नै कांग्रेसले भन्दै आएको कुराहरु पूरा गरेकोले स्थानीय तहको निर्वाचनमा समृद्ध नगर बनाउन कांग्रेस नै चाहिने उनले बताए । कांग्रेसकै नेतृत्वमा मुलुकमा पहिलोपटक संविधान बनेको स्मरण गर्दै नेता खड्काले वीरेन्द्रनगरलाई पूर्वाधार विकास, पर्यटकीय नगरलगायत समृद्धितर्फ लैजान कांग्रेसका उम्मेदवारहरुलाई बहुमतले जिताउनुपर्ने जनाए । कांग्रेसबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार देवकुमार सुवेदी, उपमेयरका उम्मेदवार जानकी सिंहलगायत १६ वटा वडा अध्यक्ष र सदस्यहरुलाई समृद्ध वीरेन्द्रनगरको योजना बनाउनपनि नेता खड्काले सुझाव दिएका छन् ।

कांग्रेसले सफल क्रान्तिको नेतृत्व गरेको, असन्तुष्ट मधेसीहरुलाई राजनीतिको मूलधारमा ल्याएको र विकासको नेतृत्व गरिरहेकोले सुर्खेतमात्र नभइ मुलुकबाट कांग्रेसलाई जिताउन नेता खड्काले आव्हान गरेका छन् । उनले जिम्मेवारी दिंदा पनि पूरा नगर्ने कम्युनिष्टलाई छान्ने कि बारम्बार दिएको जिम्मेवारी पूरा गर्ने कांग्रेसलाई छान्ने भनेर मतदातालाई विचार गर्न आग्रह गरे ।

सांसद एवं पूर्व राज्यमन्त्री खड्गबहादुर बस्यालले निकास र विकास दिने पार्टी नै कांग्रेस भएकोले कांग्रेसका उम्मेदवारहरुलाई मत दिन आग्रह गरेका छन् । उनले कांग्रेस विचारको पार्टी भएको, योजना बनाउने पार्टी भएकोले समृद्ध वीरेन्द्रनगर बनाउने खाका बोकेका कांग्रेस उम्मेदवारहरुलाई भोट दिन अपिल गरे ।

वीरेन्द्रनगरका मेयरका उम्मेदवार देवकुमार सुवेदीले योजनावद्ध सहर, समृद्ध वीरेन्द्रनगर बनाउने आफ्नो परिकल्पना रहेको र त्यो पूरा गर्नका लागि बैशाख ३१ गते अमूल्य मत दिन जिताउन आग्रह गरे । उनले नगरभित्र संचालन भएका विकास निर्माणको नेतृत्व कांग्रेसले नै गरेको र आफूहरुले जितेमा वीरेन्द्रनगरको समृद्धितर्फ क्रियाशील हुने प्रतिवद्धता जनाए । वीरेन्द्रनगरलाई प्रदेश नं. ६ को राजधानी बनाउन पूर्वाधारयुक्त नगर बनाउन, पर्यटकीय सहर बनाउन, हर्वल सिटीको रुपमा विकास गर्न आफूसंग थुप्रै योजना भएकोले जिम्मेवारीमा आएमा त्यो पूरा गरेरै देखाउने दावी उनले गरेका छन् ।

वीरेन्द्रनगरलाई खानेपानीको अभावबाट मुक्त पार्न, उज्यालो सुर्खेत बनाउनेपनि उनले बताए । कटकुवा हेल्थपोष्टलाई महिला तथा बालबालिका अस्पतालको रुपमा विकास गर्ने, प्रत्येक ३÷३ महिनामा नगरका घरघरमा घुम्ती स्वास्थ्य शिविर संचालन गर्ने जानकारी दिदैं उनले ५ बर्षभित्र समृद्ध र सुन्दर नगर दिने आफ्नो सपना रहेको बताए ।

उपमेयरका उम्मेदवार जानकी सिंहले कांग्रेस समस्याको निकास र विकास दिने पार्टी भएकोले जिताउन आग्रह गरिन् । महिला पुरुषवीचको विभेद हटाउने, आमाको नामबाट नागरिकता दिन अझै असहज भएकोले त्यो सहज बनाउने, महिलालाई उद्यमी बनाउनेजस्ता थुप्रै योजनाहरु पूरा गरिने प्रतिवद्धता उनले जनाइन् ।

कार्यक्रममा कांग्रेस पूर्व सभापतिहरु डम्बरविक्रम जिसी, गोविन्दबहादुर मल्ल, सभापति कमलराज रेग्मी, क्ष्ँेत्रीय सभापति नारायणकुमार कोइरालाले कांग्रेसलाई मत दिएर नगरको भाग्य कोर्न आग्रह गरेका थिए । कार्यक्रम अघि नगरका १६ वटै वडाहरुबाट जुलुस मंगलगढी चोकमा आइ नगर परिक्रमा गरी पीपलचौतारीमा सभामा परिणत भएको थियो ।