☰ open Loading... 5 May 2024|  

को हुन नगरप्रमुखमा विजयी भएका देवकुमार सुवेदी ? (विजयी यात्राका ६ तस्वीरसहित)
  | ६ जेष्ठ २०७४, शनिबार १७:५१

सुर्खेत । पार्टीमा विवादित नहुने र जनतामुखी सेवाभाव बोकेका देवकुमार सुवेदी कांग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् । लगातार २ कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।

यो पनि पढ्नुस् : ‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ’

सामाजिक संघसंस्थामा क्रियाशील, फरक आस्था बोकेकालाई पनि मिलाएर लैजान सक्ने, नगरका सवै वडा र बस्तीमा पुगेको र समृद्ध वीरेन्द्रनगर बनाउने योजना बोकेका सुवेदीबाट नगरबासीले सवैभन्दा धेरै आशा गरेका छन् ।

वीरेन्द्रनगरको नगर प्रमुखमा सुवेदी र उपप्रमुखमा ढकाल विजयी

सुर्खेतका ९ वटै स्थानीय तहको मत गणना सकिएको छ । पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा ८ तहको परिणाम शुक्रबार सकिएको थियो । तर शनिबार मात्रै वीरेन्द्रनगर नगरपालिकाको समेत मतपरिणाम सार्वजनिक भएको छ । वीरेन्द्रनगरको प्रमुखमा नेपाली कांग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बालाराम शर्माले १३ हजार ८९९ र माओवादी केन्द्रका रत्नबहादुर गाहाले ५ हजार २३७ मत ल्याए ।
१६ वडा रहेको सुर्खेतमा बहुमत वडाध्यक्ष ल्याएको एमालेले उपप्रमुखमा एमालेकै मोहन माया ढकालले १६ हजार ६८ मत ल्याएर विजयी भएकी छन् । नगरप्रमुखभन्दा उनको १६ सय ६३ र उपमेयरभन्दा २ हजार ४२ बढी मत हो । ढकालका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जानकी सिंहले १४ हजार २६ र नेकपा माओवादी केन्द्रका हरिमाया शर्माले  ४ हजार ६८९ मत प्राप्त गरिन् ।
नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गेहेन्द्रप्रसाद दाहालले १ हजार ८९४ मत प्राप्त गरे । वीरेन्द्रनगरका ९ वडामा एमाले, ६ वडामा कांग्रेस र १ वडामा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । विजयी पछि सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरका तत्कालका समस्या पहिचान गरेर अघि बढ्ने उद्घोष गरेका छन् ।
सुर्खेतका चार नगरपालिका र दुई गाउँपालिकामा कांग्रेस र एक नगरपालिकासहित दुई गाउँपालिकामा एमाले विजयी भएको छ । नेकपा माओवादी केन्द्र भने वडा अध्यक्षमा सिमिति भएको छ ।

त्यति सजिलै देवकुमार सुवेदी भएका हैनन् । २०३३ साल मंसिर २७ गते वीरेन्द्रनगर–३ मा जन्मिएका सुवेदीको राजनीतिक यात्रा जन माविदेखि सुरु भएको हो । १४ बर्षको उमेरमै २०४७ सालमा जनमाविमा नेपाल विद्यार्थी संघको इकाई कमिटी सचिव भए ।

त्यसपछि उनको राजनीतिक यात्रा अगाडि बढेको छ । त्यो यात्रा अहिले मेयर पदको संघारैमा आइपुगेको छ । स्कुले जीवनदेखि थालेको यात्रा क्याम्पसे जीवनमा पनि जारी रह्यो ।

२०५२ सालमा सुर्खेत क्याम्पस शिक्ष्ाँको स्ववियु उपसभापतिमा निर्वाचित भए । २०५६ मा नेविसंघ सुर्खेतको सचिव हुदैं २०५७ सालमा पुनः शिक्षा क्याम्पस को स्ववियु सभापति र नेविसंघ सुर्खेतको अध्यक्ष बने । जिल्लासम्म आइपुगेको सुवेदीको राजनीतिक यात्रा अव केन्द्र तहसम्म पुग्न थाल्यो ।

२०५९ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य बने । २०६२ सालमा उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरे । सो वर्ष सुवेदी नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य बने र २०६८ देखि अहिले सम्म कांग्रेसको वीरेन्द्रनगर नगर सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।

नगर सभापतिपछि उनी सवै नगरका बस्तीभित्र पुगेका छन्, नगर कस्तो बनाउने भन्ने योजना बनाएका छन्, नगरको समस्या पत्ता लगाएका छन् र समाधानको उपाय पनि तयार पारेका छन् ।

त्यसैले उनले नगरप्रमुखमा विजयी भएपछि योजनावद्ध सहर, समृद्ध वीरेन्द्रनगरको सपना बनाइ सो सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । वीएड, एमएम गरेका सुवेदी पटक पटक हिरासतमा बसेका छन्, यातना पाएका छन् । २०६२÷०६३ को आन्दोलन लगायतमा पटक पटक गरी ३५ दिन उनी हिरासतमा बसेका छन् ।

गिरफ्तारी र यातना पनि पटक पटक पाएका सुवेदीले जनताको अभिमतलाई कदर गर्दै समृद्ध वीरेन्द्रनगर बनाउने योजनामा कटिवद्ध भएर लाग्ने अठोट गरेका छन् ।