☰ open Loading... 29 March 2024|  

यस्ता छन वीरेन्द्रनगर कार्यपालिकाले गरेका निर्णय
  | २७ जेष्ठ २०७४, शनिबार १८:२५

सुर्खेत । साथ तपाईको, नेतृत्वमा हाम्रो, हामी बनाउछौं वीरेन्द्रनगर नारा लिएर जनप्रतिनीधिहरुले कार्यक्रम स्वीकृत गरेका छन् । वीरेन्द्रनगर नगर कार्यपालिकाको पहिलो बैठकले छोरी जन्म बचत कार्यक्रम लागु, सुर्खेत उपत्यका नगर विकास समिति खोरजी तथा जथाभावी जग्गा प्लटिङ्ग कार्यलाई रोक्ने जस्ता महत्वपूर्ण निर्णय समेत गरेको छ ।


वीरेन्द्रनगरलाई नमूना शहरको रुपमा विकास गर्ने उदेश्यले कार्यपालिकाको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको हो । वीरेन्द्रनगर नगरकार्यपालिकाको एकसय दिन कार्यक्रम अन्तरगत १५ वटा निर्णय गरेको छ । अव जन्मिने छोरीको घटनादर्ता प्रमाण पत्रका आधारमा रु एकहजार बराबरको छोरीजन्म बचत खाता स्थानीय बैंकमा नगरपालिकाले खोलिदिनेछ ।

नगरका १६ वडामा वडा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने, एक वार्ड एक वाइफाइ फ्रिजोन र सुरक्षित आमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको वीरेन्द्रनगर नगरकार्यपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।

उनले प्रत्येक महिनामा नगरप्रमुख वा उप–प्रमुखको उपस्थितीमा सम्वन्धित वडाका जेष्ठ नागरिकका कुरा सुन्ने र उनीहरुको समस्या समाधान गर्ने हेतुले बा–आमाका कुरा चौतारी कार्यक्रम सञ्चालन गर्न लागेको बताए । एक घर दुई विरुवा, वडा नम्बर ६ का बजार क्षेत्रमा कालोपत्रे, दलित र विपन्न महिलाका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको जनायो ।