☰ open Loading... 3 May 2024|  

घुम्ती शिविरबाट १९८ जनालार्इ नागरिकता वितरण
  | ६ असार २०७४, मंगलवार १८:१०

सुर्खेत । एकीकृत घुम्ती सेवा शिविरमा १९८ जनालाई नागरिकता वितरण गरिएको छ । चिंगाड गाउँपलिका अन्तरगत अवलचिङ्गलाई लक्षित गरि आयोजना गरिएको शिविरमा स्थानीयलाई नागरिकता वितरण गरिएको हो ।

शिविरबाट ११२ महिला, ८६ पुरुष र २ जना अपाङ्गलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी हितप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार विषयगत अन्य पाँच वटा कार्यालयहरुले अन्य सेवाहरु प्रदान गरेको बताए ।

शिविरमा महिला तथा बालबालिका कार्यालयले ५२ जनालाई जेष्ठ नागरिक परिचयपत्र र १२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयले २८६ जना र आँखा अस्पताल सुर्खेतले ८८ जनाको आँखा परिक्षण गरेको छ । सूचना अधिकारी पौडेलले भने मोतिविन्दु अप्रेशनका लागि ५ जना विरामीलाई सिफारिस गरेको बताए ।

जिल्ला कृषि विकास कार्यालयले ३७० जना कृषकलाई तरकारीको विउ वितरण गरेको उनको भनाई छ । यता, जिल्ला पशु सेवा कार्यालयले ३ हजार ३२ पशुपंक्षीको स्वास्थ्य जाँज गरेको थियो । शिविर जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको हो ।