☰ open Loading... 6 May 2024|  

छाउगोठ भत्काउने एनजिओको लगानी बालुवामा, सर्पले टोक्दा १९ वर्षीय युवतिको मृत्यु
  | २३ असार २०७४, शुक्रबार १९:२०

सुर्खेत । चामुण्डा विन्द्रासैनी नगरपालिका– ६ लैनचैवरकी तुल्सी शाहीको विहीवार छाउगोठमा सुतेको बेला सर्पले टोकेर मृत्यु भएको छ ।
मामाघर गएकी शाहीलाई विहीबार राती १० वजेतिर छाउगोठमा सुतिरहेको बेला शाहीलाई सर्पले डसेको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको स्थानीय नरेन्द्र शाहीले जानकारी दिए । सुरुमा उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउनुको साट्टो धामीझाँक्री लगाउन खोज्दा उपचार नपाएर उनको मृत्यु भएको जम्मुकाध स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी कमला शाहीले जानकारी दिइन् ।

स्वास्थ्यकर्मी कमलाका अनुसार स्वास्थ्य संस्थामा ढिला ल्याइपुर्याएकोले शाहीको ज्यान जोगाउन नसकिएको हो । दैलेख जिल्लामा अझैपनि ३ सय ७६ वटा छाउगोठ रहेको तथ्यांक जिल्ला समन्वय समितिले उपलब्ध गराएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका अधिकाँशका घरमा छाउगोठ रहेको स्थानीयले बताएका छन् ।

दैलेखमा कार्यरत गैरसरकारी (एनजिओ) ले छाउगोठ भत्काउने अभियानमा लाखौं रकम खर्चदा समेत ग्रमिण भेगका महिलाहरुले अकालमै ज्यान गुमाउने गरेको एक स्थानीयले बताए । ‘भर्खरै मात्रै गाउँमा छाउगोठ सम्वन्धी अभियान चलाइएको थियो, तर एनजिओको लगानी बालुवामा पानी खन्याए जस्तै छ’ उनले भने,–‘प्रतिवेदन बनाएर डलर कमाउन पल्केका एनजिओको कामले स्थानीय जागरुक हुनु पर्नेमा झन भम्रमा परिरहेका छन् ।’