☰ open Loading... 4 May 2024|  

कृषि कार्यालयको बजेट ८१ प्रतिशत खर्च
  | १ श्रावण २०७४, आईतवार ०६:५७

सुर्खेत । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३÷७४ मा आफ्नो कुल बजेटको ८१ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत कालिका प्रसाद कोईरालाले यो आर्थिक वर्षमा ८१ दशमलव ३१ प्रतिशत बजेट खर्च भएको जानकारी दिएका छन् ।

कुल बजेट ९ करोड १७ लाख ६९ हजार बजेटबाट विभिन्न शीर्षकमा गरी ७ करोड ४५ लाख ७४ हजार खर्च भएको अधिृकृत कोईरालाले बताए । कार्यक्रममा सहभागीले उठाएको प्रश्नको जवाफ दिँदै कोईरालाले सुर्खेत जिल्ला भरका किसानहरुले तरकारी बालीमा विषादीको प्रयोग कम गर्दै लगेको बताए । उनले वास्तविक किसानले अँझैपनि उचित अनुदान नपाएको स्वीकार गरेका छन् ।

कृषकहरुले प्रतिस्पर्धा गर्न नसक्दा, कार्यालयसँग स्रोतको अभाव हुनु लगायत विविध कारणले गर्दा कृषकहरुले अनुदान पाउन नसकेको कोईरालाको भनाई छ ।

‘युवालाई कृषिमा निर्भर गराउनका लागि पनि सरकारले लागु गरेको युवा लक्षित कृषि कार्यक्रमसँग मिल्दोजुल्दो कार्यक्रम संचालन गरी काम गरिरहेका छौं’ उनले भने,–‘आगामी दिनमा यो कार्यक्रम स्थानीय तहमा गईसकेकाले स्थानीय तहबाट युवालाई लक्षित गरी कृषि कार्यक्रम प्रभावकारी बनाउने योजना बनाउँदैछौं ।’ क्षेत्रीय कृषि निर्देशक शीवनारायण चौधरीले कृषिमा बढी बजेट विनियोजन गरी धेरैलाई कृषिमा निर्भर गराउन सके अर्थतन्त्रले फड्को मार्ने बताएका थिए ।