☰ open Loading... 6 May 2024|  

मप विश्वविद्यलयमा अख्तियार छिर्याे
  | २२ श्रावण २०७४, आईतवार १९:३२

नियुक्तिको विरुद्ध परेको उजुरीमाथि अख्तियारद्वारा छानविन शुरू

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को कार्यकारी परिषद्ले गरेको एक नियुक्तिको विरुद्ध परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

कार्यकारी परिषद्ले नियमावली विपरित राजनीतिक भागबण्डा मिलाउन वीरेन्द्र खड्कालाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्त गरिएको विषयलाई लिएर परेको उजुरीका आधारमा अख्तियारको सुर्खेत कार्यालयले छानविन थालेको हो ।

परिषद्ले स्थायी उपप्राध्यापक नभएका व्यक्तिलाई सहायक डिन बनाएको भन्दै उजुरी परेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजमा दुई प्रशिक्षकका रुपमा शिक्षण गराएकालाई एमयूले सह–सचिवस्तरको सेवा सुविधा पाउने गरी सहायक डिन पदमा नियुक्त गरेको थियो ।

सहायक डिनको योग्यतालाई लिएर लिखित उजुरी पर्नुका साथै विभिन्न सञ्चार माध्यममा समाचारसमेत प्रकाशित भएको थियो । सुर्खेतस्थित अख्तियारका निमित्त प्रमुख जंगबहादुर डांगीले अनुसन्धान प्रारम्भ भैसकेको जानकारी दिए ।

उजुरीमा अयोग्यलाई नियुक्तिको सिफारिस गर्ने डिन ललितविक्रम राणा तथा नियुक्त गर्ने उपकूलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला, रजिष्ट्रार महेन्द्रकुमार मल्लले पदीय हैसियतको दुरुपयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली ०६९ को परिच्छेद ३१ नियम १६९ को उपनियम (१) क र ख बमोजिम कार्यकारी परिषद्को फागुन २ गते बसेको बैठकले खड्कालाई सहायक डिन नियुक्त गर्ने निर्णय गरेको थियो ।

परिषद् निर्णयकै भोलिपल्ट उपकूलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले ०७३ फागुन ३ देखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त गरेका थिए । खड्काले सन् २०१६ मा इन्जिनियरिङमा स्नातकोत्तर (एमई) गरेका थिए ।