☰ open Loading... 19 May 2024|  

८ वर्ष वित्याे सुर्खेतकाे कारागार भवन बनेन
  | २३ श्रावण २०७४, सोमबार ०८:०२

पूरानो भवनमा क्षमताभन्दा बढी कैदी

सुर्खेत । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा रहेको सुर्खेतमा वर्षौवित्दा पनि कारगारको नयाँ भवन निर्माण हुन सकेको छैन् । नयाँ भवनको काम समयमै सम्पन्न नहुँदा जिल्ला कारागारको पुरानो भवनमा पाल हालेर कैदी बन्दीहरु बस्न बाध्य छन् ।

५० जना कैदीबन्दी क्षमता रहेको कारागारमा हाल १९१ जना थुनुवा तथा आमासंगै जेलमा आश्रित ३ बालबालिका गरी १९४ जना कैदीबन्दी बस्दै आएका छन् । पुरानो र जिर्ण भवनमा दिनानु दिन कैदीबन्दीको संख्या बढ्दै गएपछि कैदीहरुलाई सुत्न र बस्न समस्या हुने गरेको छ ।

दैनिक कारागारमा आउने कैदीबन्दीहरुको संख्यामा वृद्धि भएपछि जोखिममा बस्नु परेको गुनासो कारागार कार्यालय सुर्खेतका चौकिदार शम्भु रोकायको छ । पानी पर्दा पाल हालेर सुत्नु परिरहेको बताएका उनले सुत्ने ठाउँ नभएर रातभार जाग्राम समेत बस्नु परेको जानकारी दिए । उनले ८ वर्षदेखि अपूरै रहेको नयाँ भवन तत्काल निर्माण गर्न माग समेत गरे ।

झण्डै ०३३ सालमा निर्माण भएको कारागारमा हाल क्षमताभन्दा बढी कैदी बस्दा सुरक्षामा समेत चुनौती थपिएको छ । २०६६ असार २८ गतेबाट निर्माण थालिएको नयाँ भवन निर्माण कम्पनीले अपूरै छाड्दा कैदीबन्दी व्यवस्थापनमा दिनानुदिन समस्या हुने गरेको छ । कारागारका पूराना भवनबाट वर्षातमा पानी चुइन थालेपछि प्लाष्टिक हालेर गुजरा चलाइएको छ ।

कैदीबन्दीको संख्या बढ्दा पूरानो भवनमा सवै जनालाई व्यवस्थापन गर्न समस्या रहेको कारागार कार्यालय सुर्खेतका नायव सुब्बा टेक नारायण अधिकारीले बताए । उनले कैदीबन्दीका लागि कोठाहरु थप गरेपनि पानी चुहिने समस्या रहेको जानकारी दिए । पुरानो भवनमा सुरक्षाकर्मी, कैदीवन्दी र कार्यालय सञ्चालनमा समेत सास्ती हुँदै आएको अधिकारीको भनाई छ ।

तर अधिकारीले नयाँ भवन निर्माणका विषयमा मन्त्रालयबाट आएको टोलीले अनुगमन गरेर गएपनि प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा थाहा नभएको बताए ।

कारागारको नयाँ भवन निर्माणको जिम्मा लिएको जिएम कन्ट्रक्सन काठमाडौंले काम आधा गरेर भागेपछि कारागारका कैदी बन्दीलाई पुरानो भवनमा व्यवस्थापन गर्न सकस भइरहेको छ । झण्डै, २ करोड ३८ लाखमा कारागारको नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको कम्पनीले १ करोड ७५ लाखको मात्रै काम सम्पन्न गरेको छ ।

शान्ति तथा पुनर्निमाण मन्त्रालय अन्तरगत पुनः निर्माण तथा पुनस्र्थापना कार्यक्रम अनुसार कारागारको नयाँ भवन निर्माण शुरु गरिएको थियो । जिएम कन्ट्रक्सनलाई बारम्बार काम गर्न डिभिजन भवन कार्यालय सुर्खेतले ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि ठेक्का कालो सूचिमा राखेर नयाँ प्रक्रिया अघि बढाइएपनि फाइल मन्त्रालयमै विचारधिन अवस्थामा छ ।
निर्माण कम्पनीलाई कार्यालयले बारम्बार ताकेता गर्दा पनि सम्पर्क नआएपछि ठेक्का तोड्न सवै प्रक्रिया पुरा गरेर मन्त्रालयमा फायल पठाएको डिभिजन भवन कार्यालय सुर्खेतका इन्जिनियर झंकबहादुर थापाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष ०७४/०७५ मा ठेक्का तोडेर नयाँ निर्माण व्यवसायीलाई निर्माण जिम्मा दिइन लागेको छ ।

बालगृह स्तरिय बनाइदै

यसैविच, कारागार बालबालिकालाई आश्रय दिँदै आईरहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको लाटीकोईली स्थित सुरक्षित घर नेपाल बाल गृहले आफ्नो क्रियाकलापलाई स्तरीय बनाउने भएको छ ।

हाल ६ जना बालबालिकालाई आश्रय दिईरहेको बाल गृहले यो वर्षभित्रै १५ जना बालबालिकालाई आश्रय दिने लक्ष्य राखेको संचालक समितीका अध्यक्ष हरिराम भारतीले जानकारी दिएका छन् ।

बालबालिकालाई आश्रय दिन ६ नम्बर प्रदेशका विभिन्न ठाउँबाट धेरैले आफुहरुलाई अनुरोध गरिरहेकोले यसको थप सुधार गर्न लोको भारतीले बताए । कारागारका बालबालिकाको भविष्य उज्वल बनाउने उदेश्यले स्थापित बाल गृहले आर्थिक संकलन भएमा करिब डेढसय बालबालिकालाई आश्रय दिने र विद्यालय स्थापना गर्ने सोच बनाएको पनि भारतीको भनाई छ ।

जिल्ला कारागार सुर्खेतले पनि कारागारका बालबालिकाको पठनपाठनका लागि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयसँग समन्वय गरेर काम गरिरहेको छ । पाँच वर्ष भन्दा माथि उमेर समुहका बालबालिकालाई अदालतको आदेशअनुसार बाल गृहमा पठाईने काराकारका नासु टेकनारायण अधिकारीले बताए ।

उनका अनुसार एक वर्षभित्र कारागारमा रहेकी एकजना बालिकालाई घरपरिवारले नै फिर्ता लिएका छन् । सुर्खेत कारागारमा हाल आश्रित तीन जना बालबालिका छन् ।