☰ open Loading... 2 May 2024|  

स्याकले मनायो २२ औं वार्षिकत्सव
  | २९ श्रावण २०७४, आईतवार १५:२०

सुर्खेत ।  सामाजिक विकासका लागि क्रियाशिल समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले आफ्नो २३ औँ वार्षिक साधारणसभा तथा २२ औँ वार्षिक उत्सव मनाएको छ ।

वि.सं. २०५२ साउन २९ गते स्थापना भएको स्याक नेपालले प्रत्येक वर्षजसो तीन दिनसम्म विभीन्न क्रियाकलाप र कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । स्याकले सुर्खेतसहित, दैलेख, जाजरकोटलगायतका विभीन्न जिल्लामा आफ्ना क्रियाकलाप चलाइरहेको छ ।

स्याकका कार्यकारी निर्देशक टीकाराम आचार्यकाअनुसार प्रतिभा प्रस्फूटन कार्यक्रम, घैँटो फुटाउने कार्यक्रम र विशेष औपचारिक समारोह गरी वार्षिक उत्सव मनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडानम्वर १३ आफर नमूना गाउँ करेखोलामा भएको समारोहमा सरोकारवालाहरुले स्याक नेपालले सामाजिक, आर्थिक तथा भौतिक विकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेका छन् ।

स्याककै आन्तरिक तथा विभीन्न परियोजनाअन्तर्गत वीरेन्द्रनगर १३ आफर गाउँ, भेरीगंगा नगरपालिका १३ को ठूलोकरेली रामघाट र लेकवेसी नगरपालिका वडानम्वर ९ लामटाँडी साटाखानीमा नमूना गाउँ बनाइएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले स्याक नेपालले ग्रामीण क्षेत्रका महिला, बालबालिका तथा पिछडिएको वर्गसम्म साँच्चिकै जागरण ल्याएकोमा प्रशंसा गरे ।

यस्तै स्याक नेपालका संरक्षक डाक्टर सुरेश तिवारीले संस्थाले लिएका लक्ष्य र उद्देश्य प्राप्तिका लागि भइरहेका क्रियाकलापमा हालेमालो हुनेमा आशा व्यक्त गरे ।

यस्तै सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा, स्याकका पूर्व अध्यक्षहरु पूर्णप्रसाद पौड्याल र गोपिकृष्ण ढकाललगायतले आफ्नो धारणा व्यक्त गरेका छन् ।

अध्यक्ष मीना तिवारी शर्माको अध्यक्षतामा भएको साधारणसभा तथा वार्षिक उत्सवमा महासचिव गंगा गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । वार्षिक उत्सवकै अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतिभातर्फ संवाद सिड्स र जलश्रोत व्यवस्थापन कार्यक्रमलाई उत्कृष्ट घोषणा गरिएको छ ।

यस्तै घैँटौ फुटाउने प्रतियोगितामा घैँटो फुटाउन सफल मीना विक, रामघाटको झरना किशोरी सेवा केन्द्र र जागृति स्वावलम्वन समूह आफर नमूना गाउँ तथा कर्मचारीतर्फ साझेदारी विकास परियोजनाकी देवकुमारी पौडेल र गरिवी निवारण कार्यक्रमका प्रेमबहादुर शाहीलाई पुरस्कृत एवम् प्रशंसित गरिएको छ । यस्तै संस्थाका एक सय ८१ जना सदस्यहरुमध्ये ज्येष्ट नागरिक ७६ वर्षिय टीकाराम चौहानलाईसमेत सम्मान गरिएको छ ।