☰ open Loading... 30 April 2024|  

बर्खामा गाडी गुडाउनै सकस
  | १४ भाद्र २०७४, बुधबार १८:१२

रुकुम । जिल्लाभर ८ सय ५२ किलोमिटर लामो सडक सञ्जाल छ । गाडी भने जम्माजम्मी १ सय २ किलोमिटर सडकमा मात्रै गुड्छ । निर्माण गरिएकामध्ये अधिकांश सडकमा हिउँदमा मात्रै सवारी गुड्ने गरेका छन् । सडक निर्माणको क्रममा नाला निर्माण नगर्दा, ससाना खोलामा पनि पुल अर्थात् वैकल्पिक उपाय नलगाउँदा जिल्लामा निर्माण गरिएका अधिकांश सडक नाम मात्रैका छन् ।

जिल्लामा विभिन्न निकायको सयोगमा साबिकको जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालयले ६ सय ७८ किलोमिटर सडक निर्माण गरेका छन् । त्यसैगरी १ सय २५ किमि मध्यपहाडी लोकमार्गले जिल्लाको पूर्वदेखि पश्चिमसम्म छोएको छ । ३२ किमि राप्ती लोकमार्ग पनि जिल्लामै भएकाे खवर कान्तिपुर दैनिकमा छ ।

यसैगरी केही वर्षअघि मात्रै जिल्लामा स्थापना भएको सडक डिभिजन कार्यालय चौरजहारीले पनि विभिन्न ठाउँमा १७ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । यसमा साबिकका गाविस कार्यालय आफैंले निर्माण गरिएका सडकको लम्बाई भने जोडिएको छैन । कतिपय गाविसले मुख्य सडकदेखि गाविस कार्यालयसम्म जाने सडक आफैं निर्माण गरेका छन् ।

हरेक वर्ष सडकको लम्बाइ बढे पनि सवारी साधन गुड्ने सडक भने बढेको छैन । हिउँदभर झन्डै ८ सय किलो मिटर सडकमा सवारी गुडे पनि असारपछि कात्तिक महिना सम्म त निकै कम सडकमा मात्रै सर्वसाधारणले गाडीमा यात्रा गर्न पाउँछन् । आव ०७२/७३ मा ७ सय ८ किलोमिटर सडक निर्माण भएकामा त्यसको वर्षदिनपछि ८ सय ५२ किमि सडक निर्माण भयो । आर्थिक वर्ष ०७३/७४ मा मात्रै १४४ किमि सडक निर्माण भएको छ ।

वर्षको ६ महिना मात्रै गाडी गुड्ने सबैभन्दा बढी जिविस र जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेका सडक रहेका छन् । त्यसपछि मध्यपहाडी लोकमार्गको पनि वर्षाको समयमा खण्डखण्डमा मात्रै गाडी चल्ने गरेका छन् । बाह्रै महिना गाडी गुड्ने भनेको राप्ती लोक मार्गको ३२ किलो मिटर सडकमा हो ।

सडक डिभिजन कार्यालय चौरजहारीले बनाएको १७ किलो मिटर सडकमा पनि ६ महिना मात्रै सवारी गुड्छन् । बाँकी समय पैदल यात्रा गरेर सर्वसाधराणले चित्त बुझाउनुपर्छ । सल्यानको सिमाना खौलादेखि जिल्ला सदरमुकाम खलंगासम्म बाह्रै महिना सवारी आवजावत गर्ने एउटा मात्रै पूर्ण सडक यही हो ।

राप्ती लोकमार्गको ३२ किलोमिटर, मध्यपहाडी लोकमार्गको झन्डै ६० किलो मिटर र जिविस तथा जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेको ३० किलोमिटरमा मात्रै वर्षामा सवारी गुडिरहेका छन् । त्यो पनि जोखिमका साथ । हिलाम्मे सडक, माथिबाट झरिरहने पहिरो र ससानादेखि ठूला खोलाको कारण निर्माण भएका अधिकांश सडकमा वर्षायाममा सवारी नगुडेका हुन् ।

स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले राप्ती लोकमार्गबाहेक अन्य सडकमा गाडी गुड्छन् भन्न मिल्ने अवस्था नरहेको बताए । सडक निर्माणमा ख्याल नगर्दा सर्वसाधारण जनताले वर्षायाममा दु:ख पाउनुपरिरहेको उनको भनाइ छ । ‘सडक निर्माणका सम्पूर्ण मापदण्ड पूरा नगरी सडक निर्माण भएको भनिन्छ,’ रानाले भने, ‘सडकमा नभई नहुने नाला निर्माणमा ध्यान नदिँदा धेरै सडकहरू वर्षामा ठप्पै हुने गरेका छन् ।’ विकास निर्माणका बेला सबैको ध्यान नपुग्नु नै वर्षाभर सडक ठप्प हुनुको मुख्य कारण भएको उनी स्विकार्छन् ।