☰ open Loading... 30 April 2024|  

गाईपालनबाट स्वदेशमै मासिक सहत्तरी हजार आम्दानी
  | २८ भाद्र २०७४, बुधबार १०:००

बुद्धिमान पुन 
सल्यान । केही बर्ष यता सल्यानमा ब्यबसायिक रुपमा गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । गाईपालनको लागी राम्रो सम्भावना भएको जिल्लामा अहिले गाईपालन गर्ने किसानहरुको संख्या बढ्दै गएको हो । यहाँ ब्यबसायिक गाईपालनबाट किसानहरुले मनग्य आम्दानी समेत लिन शुरु गरेका छन् ।


त्रिबेणी गाउपालिका १ काभ्राका किसान गोपाल थापाले ब्यबसायिक रुपमा गाईपालन गर्न शुरु गरेको लामो समय भएको छैन् । ४ बर्ष मलेसिया बसेर नेपाल फर्कनु भएका उहाँले शुरुमा काभ्रा बजारमा नै ईलेक्ट्रोनिक्स पसल खोलेर बसेका थिए ।

तर ब्यबसायिक कृषकको रुपमा चिनिने उद्देश्य बोकेका उहाँ ईलेक्ट्रोनिक्स पसल छोडेर ब्यबसायिक गाईपालन गर्न गरेका हुन् । अहिले उनले ५ वटा जर्सी गाई पालेका छन् । ती मध्ये ३ वटा गाईले दूध दिने गरेका छन् ।

बिनोद कृषि तथा पशुपालन फर्म दर्ता गरेर उनले झण्डै १५ लाख बढीको लागतमा सुधारिएको गाई भकारो निर्माण र जर्सी गाई खरिद गरेका थिए । बिदेशमा पसिना बगाएर स्वदेश फर्केका उनले शुरुमा गाई फार्म खोलेर गाईपालन गर्न शुरु गर्दा छिमेकीले अच्चम मानेको थिए । अहिले गाईपालन बाट राम्रो आम्दानी हुन थाले पछि स्थानिय छक्क परेका छन् ।

अहिले एउटा गाईले एक दिनमा अठार लिटर बढी दूध दिने गरेको थापाले बताए । “अहिले म संग भएका ३ वटा गाईले दूध दिन्छन्,” उनले भने–“एउटा गाईले एक दिनमा अठार लिटर बढी दूध दिन्छ ।” उनले गाईको दूध अहिले स्थानिय बजारमा नै खपत हुने गरेको बताउँछन ।

“दुध, दहि बिक्रीको लागी अहिले कुनै समस्या छैन्,” उनी भन्छन्–“सबै स्थाानिय बजारमा नै खपत हुन्छ ।” उनले अहिले दहि दुध बिक्री बाट मासिक सहत्तरी हजार बढी आम्दानी हुने गरेको बताए । “गाईपालन बाट राम्रो आम्दानी भएको छ, सबै गरेर मासिक सहत्तरी हजार जती आम्दानी हुन्छ, दानापानी, घाँस, छोराहरुको पढाई खर्च र पारिवारिक खर्च सबै कटाएर महिनामा बीस हजार बढी बचत हुन्छ”– उनले थपे ।

उनले गाईपालनको लागी कुनै समस्या नभएको बताए । “अहिले सम्म गाईपालनमा कुनै समस्या भएको थाहा पाएको छैन, सात रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेको छु, घाँस दाना पानीको पनि कुनै समस्या छैन” उनले भने – “सोचे भन्दा पनि राम्रो भयो ब्यबसाय ।”

उनले आफुलाई गाईपालन गर्दा कुनै पनि निकायले सहयोग नगरेको गुनासो गरे । “जिल्ला पशु सेवा कार्यालयले गाई ढुवानीको खर्च दियो, आर.आर.एन. नामक संस्थाले ८ बोरा सिमेन्ट दियो” उनले थपे –“त्यो बाहेक अन्य कुनै पनि निकाय बाट सहयोग पाएको छैन ।” उनले आधा बैँक बाट ऋण लिएर र बाँकी आफ्नै लगानीमा गाई फार्म सञ्चालन गरेका हुन् ।

थापाले फार्ममा अझै जर्सीगाई को संख्या बढाउने बताए । “म सँग अहिले ५ वटा गाई मात्रै छ, तर मैले निर्माण गरेको आधुनिक गाई भकारोको क्षमता झण्डै १० वटा गाई अटाउन सक्ने क्षमताको छ,” उनी भन्छन् –“मैले फार्ममा गाईको संख्या बढाउने सोच गरेको छु ।”