☰ open Loading... 18 May 2024|  

रामलीला महोत्सवमा सात लाख संकलन
  | २२ आश्विन २०७४, आईतवार ०९:५६

बैतडी । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा हालसम्म रु सात लाख दानस्वरुप संकलन भएको छ ।

महारुद्र रामलीला महोत्सव मूल आयोजक समितिले असोज १५ गतेदेखि दशरथचन्द नगरपालिका–१ गुरुखोलामा आयोजना गरेको सो महोत्सवमा हालसम्म उक्त रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए ।

महोत्सवमा सबैभन्दा बढी वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले रु एक लाख २५ हजार दान गर्नुभएको छ भने नगर प्रमुख नरेन्द्र थापा, दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहरा र मुस्याचौर बजारका व्यापारी वीरेन्द्र भट्टले जनही रु ५१-५१ हजार रकम दान गरेकोे उनले बताए ।

दशरथचन्द नगरपालिका–१ का केशवराज भट्टले रु ३० हजार, पूर्णबहादुर टेर, वीरबहादुर टेर, नन्दराज भट्ट, त्रिभुवन रावल, कान्ता चन्द (शाही), करुणाकर भट्ट र गजराज भट्टले जनही रु २५÷२५ हजार दान गर्नुभएको थियो ।  यसैगरी अन्य दाताले रू २० हजारदेखि रू. १० हजारसम्म दान गरेका थिए ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै जान थालेपछि विद्यालयसँग आर्थिक स्रोत नहुँदा मणिलेक मावि गुरुखोलामा पनि प्राविधिक शिक्षा सञ्चालनका लागि उक्त महोत्सव आयोजना गरिएको संयोजक भट्टले बताए ।

उनले भने, “संकलित रकम आगामी वर्षदेखि प्राविधिक शिक्षा सञ्चालनका लागि खर्च गरिनेछ ।” महोत्सवमा आ–आफ्नोसहयोग गर्न आयोजक समितिले सबैसंग अनुरोधसमेत गरेको छ । महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।