☰ open Loading... 18 May 2024|  

तीन–तीन वडाका लागि एउटै वडा सचिव
  | २२ आश्विन २०७४, आईतवार १६:१३

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा कर्मचारी अभाव हुँदा तीन वटा वडाको कार्य एउटै सचिवले सम्हाल्दै आएका छन् । कर्मचारी अभावले अमिनको दरबन्दीमा नियुक्त हेमराज अवस्थीले वडा नं २, ३, ४ र ५ को कार्य वडा सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँका सहयोगीका रुपमा करारमा नियुक्त दुईजना महिला कर्मचारी छन् तर कार्य बोझ अधिक हुँदा सेवाग्राहीलाई सेवा दिन उहाँहरुलाई निकै समस्या भएको छ ।

“सेवाग्राहीको चाप अधिक हुँदा काम गर्न भ्याई नभ्याई भएको छ” वडा सचिव अवस्थीले भने । सेवाग्राहीको अधिक भीडभाड हुने वडा नं ८, ९ र १० मासमेत एकजना मात्रै स्थायी कर्मचारी वडा सचिवका रुपमा कार्यरत रहेका छन् । यसैगरी, वडा नं ६, ७ र ११ का लागि समेत एकजना मात्रै सचिव छन् । कर्मचारी अभावले नगरपालिकाले तीनवटै ठाउँमा संयुक्त वडा कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको हो ।

नगरपालिकाको वडा नं १ र १२ भने छुटृा–छुटृै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ । नगरपालिकाका १२ वटै वडा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्न कर्मचारी अभावले सकिएको छैन नगर प्रमुख दिलबहादुर ऐरले भने, “कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन गाह्रो भएको छ ।”

कर्मचारीको तत्काल व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीलाई बारम्बार आग्रह गर्दै आए पनि कर्मचारी पाउन नसकिएको उहाँले बताए । उक्त नगरपालिकामा झण्डै एक लाख बढी जनसंख्या छ उनले भने, “सेवा दिनका लागि १४-१५ जना कर्मचारीले पनि भ्याउन सकिँदैन ।”

नगरपालिकामा हाल कार्यकारी अधिकृत एक, नायब सुब्बा एक, लेखा अधिकृत एक, लेखापाल एक, खरिदार तीन, प्राविधिक सहायक दुई, अमिन एक, कम्प्युटर सहायक एक र चारजना कार्यालय सहयोगी छन् ।