| ३ कार्तिक २०७४, शुक्रबार १७:१६
दैलेखको भैरवी गाउँपालिका – ५ गाईखर्कमा नयाँ बस्ती सरेर आएका राउटेहरुले तिहार अघिल्लो दिन भत्ता पाएका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले राउटेहरुकै बस्तीमा पुगेर भत्ता दिएका हुन् ।

त्यहाँ रहेका १ सय ७५ जना राउटेलाई तिहार खर्च बापत १ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गत महिनाको तुलना मा ५ जना बच्चा जन्मेका र २ जना छुट थप समेत गरि १ सय ७५ जनाले भत्ता पाएको हुन् ।

दिनानु दिन राउटेको संख्या घट्दो छ । उनीहरुको खानपान शैलीका कारण मृत्युदर र बच्चामा कुपोषण बढी देखिने गरेको छ । जंगली जडीबुटी पाईन छाडेपछि बजारमा पाईने खाना र विहानैदेखी जाँडरक्सीले यो समुदाय लोप हुने खतरामा छ ।
सरकारले दिएको पैसाले उनीहरु रक्सीमै बढी जोड्दिने गरेको राउटेहरुसंग नजिक रहेका स्थानीयहरु बताउँछन् ।
