☰ open Loading... 29 March 2024|  

निरिक्षणमा हिडेका मन्त्री विमानस्थलमै अलपत्र
  | २१ कार्तिक २०७४, मंगलवार २०:०४

सुर्खेत । एयरपोर्ट समयभन्दा पहिले नै तारा एयरको जहाज उडेपछि उद्योग राज्य मन्त्री रेशमकुमार लामा नेपालगन्ज बिमानस्थलमा अलपत्र परेका छन् । नेपाल कै बिकट क्षेत्र कर्णाली क्षेत्र को विभिन्न जिल्लाहरुको निरीक्षण का लागि आएका मन्त्री मंगलबार दिउँसो सवा दुई वजे नेपालगन्ज एयरपोर्ट पुगेका थिए । तर जहाज दुई वजे उडेपछि उनी अलपत्र परेका हुन ।

एयरपोर्ट समयअघि नै जहाज उडेपछि राज्य मन्त्री लामा आक्रोसित भएका थिए । उनी जुम्लामा रहेका उद्योगहरुको निरीक्षणका लागि त्यहाँ जाने कार्यक्रम बनाएका थिए । उनले नेपालगन्ज बिमानस्थलका प्रमुख प्रतापबाबु तिवारीलाई भेटेर आक्रोस पोखेका हुन ।

मन्त्रीका स्वकीय सचिव जनक फडेराले एयरपोर्टका कर्मचारीहरुको लापरवाहीका कारण एयरपोर्टमा अलपत्र पर्नु परेको बताए ।‘हामीलाई सवा दुई वजे समय दिइएको थियो । मन्त्रीसहित हामी दुई वजे एयरपोर्ट पुग्दा जहाज उड्न लागिसकेको थियो ।

मन्त्री ज्यूले जहाज रोक्न हात हल्लाई रहँदा जहाज उड्यो,’ उनले भने,‘भीआईपीसंग यस्तो ब्यवहार गर्ने त्यहाँका कर्मचारीले सर्वसाधारणहरुसंग कस्तो व्यहार गर्छन भन्ने प्रश्न खडा भएको छ ।’

नेपालगन्ज बिमानस्थलका प्रमुख तिवारीले एयरलाईन्सको लापरवाहीका कारण मन्त्री लामाको जहाज छुटेको जानकारी दिए । उनले एयरपोर्ट समय बारे सूचना प्रवाहमा समस्या भएका कारण उक्त घटना भएको बताए ।

‘एयरलाईन्स कम्पनीका कर्मचारीहरुले सूचना दिनमा गल्ती गरेको देखियो,’ उनले भने,‘भोली बुधबार मन्त्री ज्यूलाई पठाउने व्यवस्था मिलाएका छौँ ।’ जहाज छुटेपछि मन्त्री लामा नेपालगन्जस्थित औद्योगिक क्षेत्रको निरीक्षण गरेका थिए ।