☰ open Loading... 4 May 2024|  

क्षेत्र नम्बर दुइकाे विकास कांग्रेसकै पालामा भएकाे हाे : थानी
  | २२ कार्तिक २०७४, बुधबार १८:३७

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले आफूले आफ्नो क्षेत्रमा गरेका विकास निर्माणका कामलाई यदि कसैले हैन भन्छ भने प्रमाण सहित प्रमाणित गरेर देखाउन चुनौति दिएका छन ।

२०५१ साल र २०६४ सालको चुनावपछि अनि २०५६ र २०७० सालको चुनावपछि क्षेत्र नं. २ मा भएका विकास निर्माणको प्रमाणसहित तुलना गर्ने अवसर जनतालाई दिन उनले चुनौति पनि दिएका छन ।

आज वीरेन्द्रनगर ११ मा भएको कार्यकर्ता भेटघाटमा कांगे्रसको तर्फबाट सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका थानीले कांग्रेसले जनतालाई झुक्याउने र फकाउने काम कहिलै नगरेको दाबी गरे ।

नगरेका काम गर्न सकेनौं भन्न हामीलाई कुनै अप्ठेरो छैन, उनले थपे तर अरु जस्तो झुटा कुरा गरेर जनतालाई भ्रमित पार्ने काम गर्दैनौ ।
भोट माग्ने एजेण्डा नै नभएपछि हताश भएकाहरुले जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाउँदै नेता थानीले जनताले इमान्दारिताका साथ कामको मूल्याकंन र समीक्षा गरेको टीप्पणी गरे ।

पूर्वमन्त्री शिवराज जोशीले विकासका लागि लोकतन्त्र अपरिहार्य रहेको जिकिर गर्दै लोकतन्त्रका लागि कांग्रेस अपरिहार्य रहेको तर्क गर्दै निरंकुश र अधिनायकवादी व्यवस्था रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने बेला आएकाले सचेत रहन आग्रह गरे ।

कांग्रेसका तर्फबाट क्षेत्र नं. २ को क का प्रदेशसभा सदस्यका उम्मेदवार एवं पार्टी सभापति कमलराज रेग्मीले विगतमा विकासका नाममा सिन्कोसमेत नभाँच्नेहरु अहिले फेरि आश्वासन बाँडदै हिंिडरहेको टिप्पणी गर्दै चनाखो रहन आह्वान गरे ।

यसैगरी, कांग्रेस नगर सभापति एवं वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले विगतमा भएका विकास निर्माणका काम कसका पालामा भयो र कसले गर्यो भनेर भोट माग्न आउनेलाई मतदाताले सोध्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य डण्ड ढकालले अहिले पार्टी र नेतृत्वसंग गुनासो गरेर बस्ने भन्दापनि सक्रिय भएर लाग्ने बेला आएको भन्दै एकजुट भएर चुनावमा होमिन आग्रह गरे ।

पार्टीको केन्द्रीय पर्यटन विभागका पूर्व सदस्य नारायण सापकोटाले विगतका कमीकमजोरी सच्याउँदै कुनै व्यक्तिका लागि नभई पार्टी संगठनका लागि कार्यकर्ता एकढिक्का हुनुपर्ने आवश्यक्ता औल्याए ।

वार्ड सभापति भुवनेश्वर उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समिति सदस्य वालदीप कंडेल, नेविसंघ केन्द्रीय सदस्य हरि शर्मालगायतले भनाइ राखेका थिए ।