☰ open Loading... 1 May 2024|  

कृषिमा समृद्धि ल्याउनेलाई किसानको भोट
  | २२ कार्तिक २०७४, बुधबार १८:४३

सागर परियार
जुम्ला । प्रदेश र संघको निर्वाचन नजिकिएसंगै जुम्लामा चुनावी प्रचारप्रसारले तिब्रता पाएको छ । विभिन्न आश्वासन बाढ्दै भोट आफुलाई हाल्न विभिन्न दलहरुका उम्मेदवारहरुले मतदाताहरुलाई हात जोड्दै अपिल गरिरहेका छन् ।

जुम्लामा निकै कडा प्रतिष्प्रधा हुने बाम र लोकतान्त्रिक गठबन्धनले आ आफ्नै जीत सुनिश्चित छ भन्दै चुनावी प्रचार प्रसारलाई नै बढ्वा दिईरहेका छन् । तर हरेक मतदाताहरुका माग र आवश्यकता भने आफ्नै रहेका छन् । कोही खानेपानी ल्याउनेलाई भोट दिन्छौ भन्छन् ।

कोही शिक्षा स्वास्थ्य तथा रोजगारी सृजना गर्नेलाई भोट दिन्छु भन्छन् । यस्तै सबै मतदाताका आ आफ्नै मागहरु छन् । तर उम्मेदवारहरु पनि प्रति मतदाताको माग भोलीनै पुरा गरौला भनेजस्तै आश्वासन दिदैछन् । यस्तै सन्दर्भमा जुम्लाका किसानहरुले भने कृषिमा समृद्धि, किसानको सम्मान गर्ने तथा प्रोसाहन गर्ने स्पष्ट नीति भएका उम्मेदवारहरुलाई भोट दिने बताएका छन् ।

जुम्लामा अर्गानिक जिल्ला घोषणा भईसक्दा पनि उत्पादित बस्तु अर्गानिक नहुने, उत्पादित बस्तुको बजारीबरणमा देखिएको समस्यालाई समधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने नगरपालिका ८ का रतनबहादुर रावतले बताए । प्रत्यक्ष रुपमा किसानहरुको जीवन स्तरलाई माथि उठाउने योजना बोकेको उम्मेदवारनै जुम्ली किसानको उम्मेदवार हुने उनको भनाई छ ।

घोषणा पत्रमा लेखिएका कुरालाई विश्वास गर्ने समय नरहेको भन्दै कृषिका क्षेत्रमा आधुनिकिकरण ल्याउने, जुम्ली किसानहरुका विभिन्न समस्या समधानका स्पष्ट नीति कार्यक्रम ल्याउन उम्मेदवारलाई भोट दिने चन्दननाथ नगरपालिका ६ की महिला किसान हरिशोभा थापाले बताइन् । अझै समाजमा पुरुषहरुको भाबी हुने चलन विद्यमान रहेको स्मरण गराउदै उनले महिला र पुरुष बीचको बिभेदलाई अन्त्य गर्ने उम्मेदावर आबश्यक रहेको बताइन् ।

त्यस्तै ः कर्णालीको कृषि क्षेत्रले देशको अर्थतन्त्रलाई नै टेवा पुराउने सम्भावना राखेको भन्दै कृषिमा लगानी गर्न सक्ने, र अर्गानिक जिल्लालाई सार्थक बनाउने उम्मेदवारलाई मतदान गर्ने जुम्लाका किसानहरुको भनाई छ ।

प्रदेश नम्बर ६ अन्तरगत पर्ने जुम्ला जिल्लामा २ ओटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा गोठीचौर गाउँपालिका, पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका पर्दछन् ।

३ ओटा गाउँपालिका र १ ओटा नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा ३१ हजार ७ सय १४ मतदाताको संख्या रहेका छन् भने महिला १५ हजार ३ सय ३७ र पुरुष १६ हजार ३ सय ८७ जना मतदाता रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा तिला गाउँपालिका, हिमा गाउँपालिका, सिजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका पर्दछन् । ४ ओटा गाउँपालिका रहेको निर्वाचन क्षेत्र नम्बर २ मा जम्मा २७ हजार ३ सय ४४ मतदाता रहेका छन् भने महिला १२ हजार ९ सय ६५ जना र पुरुष १४ हजार ३ सय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, जुम्लाका निर्वाचन अधिकारी खुमप्रसाद सुवेदी बताए ।