☰ open Loading... 25 February 2025|  

सुशिल थापा भन्छन्, ‘पूर्वाधार विकास पहिलो प्राथमिकता’
  | २५ कार्तिक २०७४, शनिबार १५:४२

दैलेख । दैलेख निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा (क) अन्तर्गत वाम गठबन्धनका उम्मेदवार सुशिल थापाले दुल्लू भैरवी क्षेत्रको पूर्वाधार विकास आफ्नो पहिलो प्रँथमिकता रहेको बताएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमार्फत् दुल्लूवासीको सेवामा केन्द्रित भएको बताउ“दै आफू निर्वाचित भएमा दुल्लू क्षेत्रलाई सम्वृद्ध बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका थापा वाम गठबन्धनका साझा उम्मेदवार हुन् । बलियो संगठन र माओवादी केन्द्रसंगको तालमेलले आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ । ‘यसपटक दुल्लू–भैरवी क्षेत्रका मतदाताले भिजन भएको नेतृत्व खोजेका छन् ।

मसंग स्पष्ट भिजन छ’ उनले भने, ‘जिल्लाका अन्य निर्वाचन क्षेत्रभन्दा आफ्नो क्षेत्रलाई विकसित गराउन सक्षम छु ।’ उनले तल्लो–माथिल्लो डुंगेश्वर, डाडीमाडी, भैरीकालिकाथुम, कुसापानी सडकलाई दुई लेनको गराउने, लोहोरे छामगाडको पानीलाई लिफ्टििङ गर्ने, पञ्चकोशी क्षेत्रको ग्यासलाई उत्खनन् गर्न पहल गर्ने, कृषिको उर्वरभूमीका रुपमा विकसित गर्ने, दुल्लू क्षेत्रलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्दै धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने, व्यवसायिक पशुपालनमा टेवा पुग्ने खाले योजना निर्माण गर्ने, दुल्लू क्षेत्रमा प्रादेशिक संरचना स्थापना गर्न दबाब सिर्जना गर्ने, सबै वडा छोएर रिङ रोड निर्माण गर्ने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन केन्द्रीय सरकारलाई दबाब दिने लगायतका आफ्ना मुख्य प्राथमिकता रहेको बताए ।

तीव्र आर्थिक विकासका लागि पूर्वाधार पहिलो खुड्किलो भएकाले आफूले हरेक क्षेत्रको पूर्वाधार निर्माणमा जोड दिने उनको भनाई छ । उम्मेदवार थापाले एमाले माओवादी केन्द्रबीचको तालमेलमा कुनै समस्या नरहेको प्रष्ट पारे ।

‘विपक्षीले कतिपय भ्रम सिर्जना गर्न सक्ने भन्दै दुवै दलका नेता÷कार्यकर्ताहरु हामी सजग छौं’ उनले भने, अझैं पनि भ्रम सिर्जना गरेर विपक्षीहरु जित्न सकिन्छ की भन्ने मानसिकता बनाएका छन् ।

आम जनताले उनीहरुको भ्रमलाई निस्तेज पारेरै छाड्नेछन् ।’ करिब ३३ हजार मतदाता रहेको यस क्षेत्रमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको मत कांग्रेसभन्दा ३६ सयले बढी छ । गठबन्धनका साझा उम्मेदवार थापालाई जिताउन निर्वाचन परिचालन कमिटीमा एमाले केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजाल संयोजक तथा माओवादी केन्द्रका नेता नयाराम थापा सह–संयोजक छन् ।