☰ open Loading... 30 April 2024|  

तरुण दलकाे चुनाव प्रचार समिति ”एक बुथ १५ युथ”
  | २६ कार्तिक २०७४, आईतवार १७:१८

सुर्खेत । नेपाल तरुण दल सुर्खेतले आइतवार चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफ्ना पक्षमा पार्न एक बुथ १५ युथकाे समिति गठन गरेको हो ।

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टको संयोजकत्वमा एक हजार १ प्रचारप्रसार समिति गठन गरिएको हो । प्रचार प्रसारको लागि तरुण दलले क्षेत्र नम्वर एकमा क्षेत्रीय अध्यक्ष अमर वलीको संयोजकत्वमा टोली खटाएको छ भने क्षेत्र नम्वर दुईमा क्षेत्रीय अध्यक्ष जिवन ढुङ्गानालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

काँग्रेसका उम्मेदवारलाई जिताउनको लागि अभियान थालेको तरुण दलका अध्यक्ष हरि विष्टले बताए । निर्वाचन सुरक्षाको लागि जिल्लाको दुई वटै निर्वाचन क्षेत्रका प्रत्येक बुथहरुमा एक बुथ १५ युथ परिचालन गर्ने अध्यक्ष विष्टले बताए ।

‘सुर्खेतका दुईवटै निर्वाचन क्षेत्रका कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउनका लागि युथ परिचालन समेत गरिनेछ’ उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने र अराजक गतिविधि सञ्चालन गर्न खोज्नेलाई तरुण दलले प्रतिकार गर्न पछि हट्नेछैनौ ।’ यस्तै तरुण दलले कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनको लागि सम्पूर्ण मतदाताहरुलाई आग्रह पनि गरेको छ ।