☰ open Loading... 30 April 2024|  

गोलाप्रथाबाटै मतदान र सहायक मतदान अधिकृत छनौट
  | १२ मंसिर २०७४, मंगलवार १७:१७

सुर्खेत । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्लाभरका २६३ मतदान केन्द्रमा खटिने मतदान र सहायक मतदान अधिकृतहरुलाई गोलाप्रथाबाट छनौट गरेको छ । यही मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा मतदान अधिकृत खटाउन कार्यालयले गोलाप्रथाबाटै उनीहरुलाई छनौट गरेको हो ।


विगतका निर्वाचनमा कर्मचारीहरुले आफूहरुलाई टाढा खटाएको भन्दै असन्तुष्टी जनाएपछि यो निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतहरु कुन मतदान केन्द्रमा खटिने भन्ने टुंगो गोलाप्रथाबाटै लगाएको छ ।

मुख्य निर्वाचन कार्यालयले प्रमुख जिल्ला अधिकारी, निर्वाचन कार्यालय, कर्मचारी सम्वद्ध ट्रेड युनियनहरुको रोहवरमा गोलाप्रथाबाट केन्द्र र खटिने कर्मचारीहरुको नाम सार्वजनिक गरेको थियो ।

कर्मचारी खटन–पटनमा पारदर्शिता ल्याउन गोलाप्रथाबाटै मतदान र सहायक मतदान अधिकृत छनौट गरिएको सुर्खेतका मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले जानकारी दिए ।

उनले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट छनौट गरेपछि मतदानमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षित गराएर सम्वन्धित केन्द्रमा खटाइने बताए ।

विगतका निर्वाचनहरुमा विभिन्न कर्मचारी टे«ड युनियनहरुले आफू निकट कर्मचारीहरुलाई पायक पर्ने ठाउँमा खटाइदिन दवाव दिने गरेका थिए ।

तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको गोलाप्रथाको ट्रेड युनियनहरुले सकारात्मक कार्य भएको प्रतिक्रिया दिएका छन् । अन्य कर्मचारीहरु मतदानमा खटाउँदा कार्यालयले गोलाप्रथा नगर्ने र सिधै पठाउन लागेको छ ।