☰ open Loading... 30 April 2024|  

दुर्गम बस्ती छिचोल्दै चल्यो बस
  | १२ मंसिर २०७४, मंगलवार १२:३३

दैलेखको बेस्तडाबाट खच्चडमै सामान लिएर बेच्दै आएका जाजरकोट सुयाडका ब्यापारी खड्क विसी आफ्नै गाँउसम्म बस चलेपछि निकै खुसी छन् ।

महंगो भाडामा सामान ल्याएर बेच्दै आएका विसी अहिले गाडी चल्दा सामान पनि सस्तोमै विक्रि गर्छन् । गाँउसम्मै बस सेवा सुरु भएपछि उनी मात्रै होईन् दैलेख र जाजरकोटका स्थानीयहरु हर्षित छन् ।

दैलेख–जाजरकोट सडक खण्ड अन्र्तगत जगनाथ हुँदै जाजरकोट जान लागेको बस ।

सडक नहुँदा सुर्खेत र दैलेख सदरमुकाम जान जाजरकोट र दैलेखका स्थानीयहरु २ दिनसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो ।

अहिले उनीहरु बस कुरेरै भएपनि केही घण्टामै सुर्खेत–दैलेख मुकाम पुग्ने गरेका छन् । बस अहिले दैलेखको मेहेलतोली र जगनाथ हुँदै जाजरकोटको साल्म गाविसस्थित सुयाडमा पुग्छ ।

‘भिरपाखा फोडेला भनेर सोच्नसम्म सपनाजस्तै लाग्थ्यो अहिले हाम्रा घर अगाडी गाडी आउन थाले ।’ सुयाडका ब्यापारी खड्क विसीले भने, धमाधम चल्न थालेपछि जनतालाई आउजाउमा सुविधा भयो, दोवर मंहगो खाद्यबस्तुहरु पनि सस्तिएको छ ।’

दैलेख–जाजरकोट खण्डको अप्ठ्यारो भिरपाखामा मध्यपहाडी लोकमार्गले सडक छिचोलेपछि अहिले बस चलेको हो । केही वर्षअघिसम्म मोटरसाईकल चल्न समेत गाह्रो हुने असजिलो भएपछि अहिले मध्यपहाडी लोकमार्गको काम धमाधम भएकाले ठुला गाडीहरु चलेका हुन् ।

दैलेख र जाजरकोटका विकट गाँउबस्ती भएर अहिले सरर बस चल्न थालेपछि स्थानीयहरु राहत महशुस मात्र गरेका छैनन् खुसीको सिमा समेत छैन् ।

घरअगाडी सरर बस चल्न थालेपछि दैलेखको जगनाथ र अछामको साल्म गाविसका स्थानीयहरु दंग छन् । उनीहरुले यसरी बस नै चल्ला भनेर कहिल्यै नसोचेका दैलेख र जाजरकोटका स्थानीयहरु मध्यपहाडी लोकमार्गले सडक बनाएपछि गाडी चड्ने सपना पुरा भएको हो । ‘बाँदर हिड्ने भिरपाखा फोडेर सडक बन्यो ।’

जगनाथका स्थानीय जनक अधिकारीले भने, ती भिरपाखा हुँदै गाँउगाँउमा बसहरु चलेपछि खुसी मात्र होईन हाम्रा लागि सपनाजस्तै भएको छ ।’

मध्यपहाडी लोकमार्गसंग जोडिएका जाजरकोटका ब्यापारीहरुलाई खच्चडको झन्झटबाट मुक्ति पाएका हुन् । सडक सुधार भएमा केही महिनाभित्र दसेरा गाविससम्म गाडी पुग्ने बस ब्यवसायीहरुले बताएका छन् ।

‘मध्यपहाडी लोकमार्गको केही ठाँउमा सडक अँझै राम्रो छैन् ।’ काँक्रेविहार यातायातका दैलेख सहइन्जार्च आनन्द केसीले भने, गाडी चालकको कुशलताकै कारण जाजरकोटसम्म सेवा दिएका छौ ।

विक्रिएको ठाँउमा तत्काल सडक सुधार गरिदिएको भए अँझ राम्रो हुन्थ्यो ।’ अहिले यो खण्डमा काँक्रेविहार यातायात र मध्यपश्चिम यातायातका बसहरु चल्छन् ।