☰ open Loading... 3 May 2024|  

सुर्खेतमा मतदान शान्तिपूर्ण, ७० प्रतिशत मत खस्याे
  | २१ मंसिर २०७४, बिहीबार २०:४६

सुर्खेत । दोस्रो चरण अन्तरगत भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुर्खेतमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका २६३ मतदानस्थलमा करिव ७० प्रतिशत मत खसेको छ ।

कुल २ लाख ४ हजार ५७७ मतदाता रहेको सुर्खेतमा ८० प्रतिशत मत खस्ने आँकलन गरिएपनि कम भोट खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रत्न गिरीले जानकारी दिए ।

उनका अनुसार समग्रमा जिल्ला शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न भएको छ । पश्चिमको लगामदेखी पूर्वको घोरेटासम्मका मतपेटीका बिहिबार राती नै वीरेन्द्रनगर ल्याइने सूचना अधिकारी गिरीले बताए ।

‘नजिकका मतदान केन्द्रमा मतपेटीका वीरेन्द्रनगर आउने क्रम जारी छ’ गिरीले भने,–‘अन्य मतदान केन्द्रको हकमा मत पेटीका ल्याउन तयारी अवस्थामा छन् ।’ सुर्खेतमा पुरुषको तुलनामा महिलाहरुको मत बढी खसेको छ । जिल्ला भर ९८ हजार ७०५ पुरुष र एक लाख पाँच हजार ८७३ महिला मतदाता थिए ।

‘सिजन अनुसारको काम गर्न पुरुष बाहिर गएकाले कम मत खसेको हुन सक्छ’ सूचना अधिकारीले गिरीले थपे,–‘तर समग्रमा मतदान प्रक्रियामा जनताको उत्साहजनक सहभागी रहेको विवरण हामीले प्राप्त गरेका छौं ।’

दुई प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नम्बर एकको मतगणना मध्यपश्चिम सिँचाई निर्देशनालयको कार्यालय र क्षेत्र नम्बर दुईको मतगणना मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको भवनमा गणना गरिनेछ ।

गणना स्थलमा सुरक्षित रुपमा मतपेटीका राख्ने प्रवन्ध मिलाइएको सूचना अधिकारी गिरीले उल्लेख गरे । बिहिबार रातीसम्म सवै मतदान केन्द्रको मतपेटीका आए आज (शुक्रवार) विहानदेखी मतगणना शुरु हुने गिरीले जानकारी दिए ।