☰ open Loading... 2 May 2024|  

६ नम्बर प्रदेशमा को बन्ला मुख्यमन्त्री ? जीवन शाहीलार्इ धक्का ! 
  | २५ मंसिर २०७४, सोमबार १८:०३

सुशील खड्का/सागर परियार
सुर्खेत/जुम्ला । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार तीन जना उम्मेदवारहरु विजयी भए । यो प्रदेशको भावी मुख्यमन्त्रीका लागि चर्चामा रहेका उनीहरु प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

कर्णालीबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएका कांग्रेसका हुम्लाबाट जीवनबहादुर शाही, जुम्लाबाट माओवादी केन्द्रका नेता नरेश भण्डारी, कालिकाेट माओवादीकै महेन्द्रबहादुर शाही र सुर्खेतबाट यमलाल कंडेल प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

कांग्रेसले भावी मुख्यमन्त्रीमा दाबी गरेका जीवनबहादुर शाही हुम्लाको प्रदेश सभा (ख) बाट विजयी भए । तर उनी प्रदेश ६ का एक्ला कांग्रेसबाट विजयी हुन् । २४ सिट रहेकाे प्रदेशमा २३ सिट गठबन्धनले जितेपछि मुख्यमन्त्री हुने उनकाे सपना चकनाचुर भएकाे छ । शाही चार हजार पाँच सय १९ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार विजय भण्डारीले तीन हजार नौ सय ९३ मत प्राप्त गरेर पराजित भए ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपर्यटन मन्त्रीसमेत रहेका शाहीलाई यो प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीको रुपमा अगाडि सारेको थियाे । तर प्रदेश ६ मा एमाले र माओवादीको वाम गठबन्धनले स्पष्ट बहूमत ल्याएपछि शाहीलार्इ मुख्यमन्त्री बन्ने बाटाे पूर्ण रूपमा बन्द भयाे ।

कर्णालीबाटै मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी नेता महेन्द्रबहादुर शाही कालिकोटको प्रदेश सभा (ख) बाट विजयी भए । उनले १२ हजार तीन सय ५३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार तीन सय ४२ मत प्राप्त गरेर पराजित भए ।

विना विभागीय मन्त्रीसमेत रहेका महेन्द्र शाहीलाई पनि कर्णालीबाट भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । मुख्यमन्त्रीकै आश्वासन पाएका कारण उनी प्रदेशसभाको निर्वाचनमा लडेका थिए । उनले पनि प्रदेश सभामा विजयी भएर मुख्यमन्त्रीको लागि तयार रहेको समर्थक बताउँछन् ।

प्रदेशको समृद्धि र विकासका लागि आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सञ्चारकर्मीसंग उनले संक्षिप्त प्रतिक्रिया दिए । यस्तै जुम्लाको प्रदेश सभा (क) बाट १२ हजार ५ सय ७४ मत प्राप्त गर्दै माओवादी केन्द्रका नेता नरेश भण्डारी विजयी भए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५ सय ३५ मत ल्याएर पराजित भए ।

भण्डारीले पनि निर्वाचन अघि आफूलाई मुख्यमन्त्रीको हुने भन्दै जुम्लाका मतदातासंग मत मागेका थिए । विजयी घोषणा भएसँगै भण्डारीले भने ‘६ नम्बर प्रदेशलाई देशकै नमूना बनाउन काम गर्नेछु । जुम्लालाई प्रदेश ६ को गृष्मकालीन राजधानी बनाइनेछ, यसका लागि मेरो मुख्य पहल रहनेछ ।’

भण्डारीले पनि आफू यो प्रदेशको मुख्यमन्त्री बन्ने र कर्णालीलाई न्याय दिलाउने बताउँदै आएका छन् । कर्णालीमा मुख्यमन्त्रीको एजेण्डा लिएर निर्वाचनमा होमिएका तीनै जनाले यो प्रदेशको भावी मुख्यमन्त्री बन्ने बाटो सुरक्षित गरेका छन् ।

यो प्रदेशको पहिलो मुख्यमन्त्री कर्णालीले नै पाउने आंकलन गरिएपनि सुर्खेतबाट प्रदेश सभा २ (क) बाट यमलाल कंडेल विजयी भएका छन् । सुर्खेती जनतासंग मत माग्दा अाफू नै मुख्यमुन्त्री हुँ भन्दै मत नमागेपनि कतिपयले कंडेल मुख्यन्त्रीका दावेदार हुन भन्दै चर्चामा ल्याइएकाे छ ।

तर सुर्खेतमा प्रदेश राजधानी हुने भएपछि कर्णालीले मुख्यमन्त्री पाउनुपर्ने माग उठिरहेकेा छ । कंडेलले २१ हजार २८५ मत ल्याएर विजयी भएभने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत ल्याएर पराजित भए ।

पहिले जुम्लामा हुने सम्भावित राजधानी गुमाएपछि नरेश भण्डारीलाई मुख्य मन्त्री हुनु पर्ने जुम्लीको जोड छ । यद्यपी माघसम्म नयाँ सरकार बन्ने भएकाले प्रदेश ६ मा काे मुख्यमन्त्री बन्छ भन्ने सवाल पेचिलाे बन्न थालेकाे छ ।