☰ open Loading... 20 April 2024|  

घर मर्मतका लागि दुई सय ५३ मुक्त हलिया परिवार छनोट
  | २३ पुष २०७४, आईतवार ०७:५०

 

कञ्चनपुर ।  घर मर्मतका लागि कञ्चनपुरका २५३ मुक्त हलिया परिवार छनोटमा परेका छन् ।  मुक्त हलिया पुनः स्थापन समितिको बैठकले प्रमाणीकरणमा परेका ‘ख’ र ‘घ’ श्रेणीका परिवारलाई घर मर्मतका लागि छनोट गरेको हो । झोपडीमा बस्दै आएका दयनीय अवस्था भएका परिवारलाई घर मर्मतका लागि छनोट गरिएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष एवं पुनःस्थापन समितिका सदस्य सिवी लुहारले बताए ।

छनोटमा परेका परिवारलाई भूमि सुधार कार्यालय कञ्चनपुरमार्फत घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले किस्ताका रुपमा रकम उपलब्ध गराइने छ ।

उहाँका अनुसार घर मर्मतका लागि भीमदत्तनगरपालिकाका ६३, संकरपुरका १३, लक्ष्मीपुरका दुई, श्रीपुरका नौ, रैकवार विचवाका नौ, रामपुर विलासीपुरका पाँच, रौतेली विचवाका पाँच, देखतभूलीका पाँच परिवार छनोटमा परेका छन् ।

यसैगरी, बेलडाँडीका १०, पिपलाडीका २०, कालिकाका ३७, कृष्णपुरका २४, झलारीका ३१ र सुडाका २० परिवार घर मर्मतका लागि छनोटमा परेका छन् । छनोटमा परेका परिवारलाई केही दिनभित्रै पहिलो किस्ताको रकम उपलब्ध गराइने जिल्ला भूमिसुधार कार्यालय कञ्चनपुरले जनाएको छ ।

चालु आवमै १८१ परिवारलाई समेत घर मर्मतका लागि छनोट गरी रकम प्रदान गरिने बताइएको छ । “चालु आवमा भीमदत्तनगरपालिकाका जग्गा उपलब्ध गराइएका ‘क’ श्रेणीको परिचयपत्र पाएका १० मुक्त हलिया परिवारलाई घर निर्माणका लागि रु दुई लाख २५ हजारका दरले रकम उपलब्ध गराउने प्रक्रिया समेत शुरु गरिएको छ” अध्यक्ष लुहारले भने ।

हालसम्म कञ्चनपुरमा २९७ परिवार मुक्त हलिया पुनःस्थापन गरिएका छन् । भूमि सुधार कार्यालयले यस वर्ष ६३४ परिवार मुक्त हलियालाई पुनः स्थापन गर्ने जनाएको छ ।  लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ४९७ मुक्त हलिया प्रमाणीकरणमा परि परिचयपत्र पाएका छन् ।