☰ open Loading... 21 May 2024|  

विशेषज्ञ पठाउन आनाकानी
  | १ माघ २०७४, सोमबार ०९:४०

जाजरकोट  । जाजरकोट जिल्ला अस्पताल १५ बाट ५० शय्यामा स्तरवृद्धि भएको २ वर्ष बित्यो तर सेवासुविधा झन् खस्किएको छ । स्थानीय बासिन्दा गुणस्तरीय स्वास्थ्योपचार पाउनबाट वञ्चित छन् । स्तरवृद्धि गरिए पनि अस्पतालमा विशेषज्ञ चिकित्सक, उपकरण, भौतिक पूर्वाधार पर्याप्त छैनन् । शल्यक्रियासहितको प्रसूतिसेवासमेत सञ्चालनमा आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालय नै जिल्ला अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक पठाउन उदासीन देखिएको छ । स्वास्थ्यसचिव पुष्पा चौधरी जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउन सकिने अवस्था नरहेको बताउँछिन् । काठमाडौं, पोखरा, नेपालगन्ज, विराटनगरलगायत सहरी क्षेत्रबाहेकका अस्पतालमा विशेषज्ञ डाक्टर पठाउन चुनौती रहेको उनको भनाइ छ । ‘नेपालमा विशेषज्ञ डाक्टरको अभाव छ, त्यसैमा उनीहरू दुर्गम जिल्ला आउन मान्दैनन्,’ शनिबार सदरमुकाम खलंगामा आयोजित अन्तरक्रियामा उनले भनिन्, ‘मन्त्रालयले जबरजस्ती गरेर चिकित्सकलाई दुर्गम जिल्लामा खटाउन सक्दैन ।’

जुनीचाँदेमा फैलिएको भाइरल प्रकोपको अवस्थाबारे जानकारी दिन आयोजित उक्त अन्तरक्रियामा स्थानीयले चौधरीसँग जिल्लामा तत्काल विशेषज्ञ चिकित्सक पठाउन माग गरेका थिए ।

चौधरीसहितको टोली भाइरल प्रभावित क्षेत्रको अनुगमनका क्रममा खलंगा पुगेको थियो । सचिव चौधरीको यस्तो अभिव्यक्तिपछि स्थानीय थप चिन्तित बनेका छन् । ‘जाजरकोटका बासिन्दाले घरछेउमै ५० शय्याको स्वास्थ्य सुविधा कहिले पाउने रु’ प्रजिअ पुष्पराज शाहीले भने, ‘स्तरवृद्धि गर्ने तर त्यसअनुसार सेवासुविधाको व्यवस्था नगर्नु स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारी हो ।’ चिकित्सक अभाव हुँदाहुँदै अस्पतालमा कार्यरत डा। चाँदनी जैसवाललाई विभागमा काजमा राखेर मन्त्रालयले नौटंकी गरेको उनले आरोप लगाए ।

मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहेकी जैसवालको काज फिर्ता गराउन प्रशासनले पटकपटक मन्त्रालयमा ताकेता गरेको थियो । ‘भाइरल प्रकोप फैलिएका बेलासमेत चिकित्सकको काज फिर्ता गरिएन, अस्पताल लथालिङ्ग अवस्थामा छ । कार्यालय प्रमुखको जिम्मेवारी कसैलाई दिइएको छैन,’ शाहीले भने, ‘जाजरकोटका जनताको स्वास्थ्यप्रति मन्त्रालय गम्भीर देखिएन ।’

विशेषज्ञ र पूर्वाधार अभावमा यहाँ सामान्य रोग पनि महामारी बन्ने गरेको छ । निमोनिया, जटिल प्रकृतिको प्रसूतिसेवा आवश्यक पर्ने र हातखुट्टा भाँचिएका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालका लागि ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायक स्तरका स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना भएको थियो । अहिले ११ औं तहको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेत ९ विशेषज्ञ चिकित्सकसहित २९ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ ।

भाइरलले थप एकको मृत्यु 

जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल इन्फ्लुएन्जाबाट थप एक जनाको ज्यान गएको छ । जुनीचाँदे९२ धुल्जडाका ६० वर्षीय तुलबहादुर खडकाको मृत्यु भएको हो । उनी ४ दिनदेखि भाइरल ज्वरोले ग्रस्त थिए ।

उपचार नपाएकै कारण खडकाको ज्यान गएको वडाध्यक्ष रामबहादुर नेपालीले बताए । योसहित जुनीचाँदेमा भाइरलबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उक्त बस्तीमा तीन सातादेखि प्रकोप फैलिएको छ ।

यद्यपि पछिल्ला दिन प्रकोप नियन्त्रण उन्मुख देखिएको छ । स्वास्थ्य संस्था र अस्थायी स्वास्थ्य शिविरमा बिरामीको चाप घटेको छ । शिविरमा बिरामी आधा घटेको डा। पवन शाक्यले जानकारी दिए । ‘शनिबारदेखि भाइरलका बिरामी फाटफुट मात्र आएका छन्,’ उनले भने, ‘सामान्य रुघाखोकी, दम, निमोनिया, छातीको इन्फेक्सनलगायत समस्याका बिरामी भने उत्तिकै छन् ।’ आइतबार बडकुले र भैरव मावि मजकोटमा गरी १ सय ५० जना बिरामी आएकोमा रुघाखोकी तथा ज्वरोका १५र२० जना मात्र रहेको शाक्यले जानकारी दिए ।

जुनीचाँदे९१ बडकुलेमा ज्वरोबाट पीडित बालबालिकाको संख्या २ दर्जनभन्दा बढी रहेको वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए । उनका अनुसार शनिबारसम्म १ हजार ९ सय बिरामीको उपचार भएको छ । जाडो, दूषित पानी, सरसफाइको कमी, पोषण अभावजस्ता कारणले भाइरल फैलिएको शाहीको भनाइ छ । यसैबीच जुनीचाँदेमा विभिन्न संघसंस्थाले न्यानो कपडा वितरणको तयारी गरेका छन् । सामाजिक संघसंस्थाले वृद्धवृद्धा र बालबालिकाका लागि कम्बल, जकेट, टोपी, मोजा वितरण गर्न लागेका हुन् ।

स्राेत : कान्तिपुर