☰ open Loading... 2 May 2024|  

प्रदेश ६ : प्रदेश प्रमुखकाे कार्यालय सिँगारिदै
  | ४ माघ २०७४, बिहीबार १७:५७

सुर्खेत । सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेसँगै सुर्खेतमा प्रदेश सरकारका लागि आवश्यक पर्ने भौत्तिक संरचनाहरुको मर्मत तथा सजावटको काम सुरु गरेको छ ।

सुर्खेतस्थित प्रदेश प्रमुखकाे कार्यालय ।

प्रदेश नम्बर ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश संसद र मन्त्रालयका लागि यसअघि नै भवनहरु छनौट भइसकेका छन् । प्रदेश प्रमुखको कार्यालय, आवास र बैठक कक्षका लागि छनौट गरिएको मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्द्रको भवनमा शुक्रवारबाटै सिंगार्ने काम हुने भएको छ ।

सरकारले मर्मत तथा सुधारका लागि माग गरिएको बजेट उपलब्ध गराउने वित्तिकै कामले तीव्रता पाउने क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशवप्रसाद उपाध्यायको भनाइ छ । प्रदेश संसद, मन्त्रालय र आवासका लागि वीरेन्द्रनगरमा हाल २१ वटा भवन छनौट गरिएका छन् ।

प्रदेश संसदका लागि क्षेत्रीय शैक्षिक तालिम केन्द्र, मुख्यमन्त्रीका लागि क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालयका लागि जिल्ला कृषि विकास कार्यालय, अर्थ मन्त्रालयका लागि क्षेत्रीय शिक्षा निर्देशनालय, भौत्तिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सडक र सिचाइँ तथा कृषि मन्त्रालयका लागि क्षेत्रीय कृषि निर्देशनालयका भवन छनौट गरिएका छन् ।

यी भवनहरुको मर्मत, सजावट र आवश्यक पर्ने सामग्री व्यवस्थापका लागि ३३ करोड रकम खर्च हुने अनुमान गरिएको छ ।