☰ open Loading... 2 May 2024|  

कहिले बस्दैछ प्रदेश सभाको पहिलो बैठक ?
  | १३ माघ २०७४, शनिबार २०:०८

सुर्खेत । प्रदेश नम्बर ६ को संसदको पहिलो बैठक आह्वानमा ढिलाइ भएको छ । प्रदेश प्रमुखको कार्यालयमा जनशक्ति नआउँदा तत्काल बैठकको मिति तोक्न ढिलाइ भएको हो । प्रदेश सांसदहरुले सपथ खाएको २० दिनभित्र पहिलो बैठक आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर कार्यालयले जनशक्ति अभावका कारण प्रदेशको पहिलो बैठकको मिति तोक्नमा ढिलाई भएको जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयको सचिवको जिम्मेवारी पाएका भरत ढुंगाना शुक्रबार मात्रै हाजिर भएका छन् । पश्चिमनेपालसंग कुरा गर्दै सचिव ढुंगानाले प्रदेश प्रमुखको कार्यालयमा जनशक्ति समयमै नआउँदा मिति तोक्न ढिलाइ भएको जानकारी दिए ।

उनले आइतबार सर्वदलिय बैठक आह्वान गरिएकाले सोही बैठकबाट पहिलो वैठकको मिति तोकिने उल्लेख गरे । शुक्रबार प्रदेश प्रमुखसंगको छलफलमा माघ २१ गते प्रदेश सभाको पहिलो बैठक आह्वान गर्ने तयारीमा कार्यालय जुटेको छ ।

प्रस्तावित शैक्षिक तालिम केन्द्रको संसद भवनमा तत्काल संसद बैठक बस्न सक्ने अवस्था नभएपछि जिल्ला समन्वयको हलमा बसाल्ने तयारीमा आफूहरु लागेको ढुंगानाले जानकारी दिए ।

संसद सचिवालयको अनुभव भएका कर्मचारीहरु नहुँदा सचिवालयको व्यवस्थापनमा ढिलाइ भएपछि संसद बैठक सम्वन्धित कार्यालयमा बसाल्न नसकिने अवस्था आएको उनले बताए । वीरेन्द्रनगरस्थित शैक्षिक तालिम केन्द्रको भवनलाई संसद र सचिवालयका लागि प्रस्ताव गरिएको थियो ।

सरकारले शुक्रबार मात्रै सरकारले प्रदेश ६ को संसद सचिवालयको सचिवमा कृष्ण खड्कालाई पठाएको छ । उनी आएपछि मात्रै संचिवायल व्यवस्थापनको काम शुरु हुने बताइएको छ ।